काठमाडौं, फागुन ५-
पहिले संविधान संशोधन गर्ने कि निर्वाचन घोषणा भन्ने लामो रस्साकस्सीपछि पछिल्लो समय सरकार निर्वाचनको मिति घोषणा गर्ने तयारीमा जुटेको छ। निर्वाचनको मिति घोषणा नभई संशोधन प्रक्रिया अघि बढ्न नदिने अडानमा रहेको प्रमुख प्रतिपक्षी नेकपा एमालेले निर्वाचनको मिति घोषणा गर्ने शर्तमा संशोधन प्रक्रियामा लचिलो हुने संकेत देखाएको छ।
तर, मधेसी मोर्चाका नेताहरुले संविधान संशोधन नभई निर्वाचनको मिति घोषणा गरिए आफूहरुले आन्दोलन घोषणा गर्ने चेतावनी दिएका छन्।
संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको घटक संघीय समाजवादी फोरमका अध्यक्ष यादवले सरकारले अहिलेकै अवस्थामा चुनावको मिति तोके आफूहरुले आन्दोलन घोषणा गर्ने बताए। ‘सरकारले निर्वाचन घोषणाको तयारी गरेको छ। हामीले आन्दोलनको तयारी गरेका छौं,’ यादवले भने,‘निर्वाचन र आन्दोलनको घोषणा सँगै होलाजस्तो छ।’ सहमतिका लागि सरकारसँग भएका प्रयास सकरात्मक नभएको उनले बताए।
‘सरकारको संविधान संशोधन नगर्ने नियत छ। सरकारसँग भएका वार्ता पनि गफगाफ जस्ता मात्रै भएका छन्’, उनले भने, ‘पछिल्ला दिनमा सहमतिका लागि सरकारसँग वार्ता पनि भएको छैन। एमालेसँग त वार्ताको सम्भावना नै छैन।’संविधान संशोधनका लागि एमाले तयार नहुने र निर्वाचनका लागि मोर्चा तयार नहुने अवस्थाका बीचमा सरकारले जेठका लागि फागुन ८ गतेभित्र निर्वाचनको मिति घोषणा गर्ने तयारी गरिरहेको छ।