चितवन, फागुन २–
प्रथम शहिद क्याप्टेन लखन थापा मगरको १४० औं स्मृति दिवस पारेर नेपाल इकाई मगर समाज संघ रत्ननगरले शहिद थापाको शालिक शिलन्यास गरेको छ ।
रत्ननगर–१० मंगलपुरस्थित समाजको निर्माणाधिन साँस्कृतिक संग्राहलय परिसरमा आज एक कार्यक्रमकाबीच रत्ननगर नगरपालिकाका कार्यकारी अधिकृत काशीराम गैरेले शालिकको शिलन्यास गर्नुभयो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि कार्यकारी अधिकृत गैरेले शालिक निर्माणमा नगरपालिकाले आर्थिक सहयोग गरि आफ्नै कार्यकालमा शालिक निर्माण गरिनेमा प्रतिवद्धता जनाउनुभयो । उहाँले मगरहरुको संग्राहलय निर्माणका लागि पनि आर्थिक सहयोग गरेको भन्दै मगर समुदायको विकासका लागि हरदम सहयोग गर्न तयार रहेको प्रतिवद्धता जनाउनुभयो ।
रत्ननगर–१० निवासी स्वर्गीय कौशिला राना मगर र सोही स्थानका नरबहादुर राना मगरले समाजलाईलाई निःशुल्क रुपमा उपलब्ध गराएको २ कठ्ठा क्षेत्रफल जमिनमा साँस्कृतिक संग्राहलय निर्माण, सभाहल, मगरहरुले परम्परागत रुपमा पूजा गर्दै आईरहेको भँयर मन्दिर निर्माणको क्रम चलिरहेको छ भने सोही स्थानमा आज शहिद लखन थापा मगरेको शालिक शिलन्यास गरिएको हो ।
सबै निर्माण सम्पन्न गर्न कुल ३० लाख खर्च लाग्ने अनुमान गरिएकोमा हाल १३ लाख रुपैयाँ खर्च भई सकेको समाजका अध्यक्ष रमेश राना मगरले जानकारी दिनुभयो ।
कार्यक्रममा नेपाल मगर संघ चितवनका कोषाध्यक्ष भीमबहादुर खाम मगर, नेकपा एमाले रत्ननगर नगर कमिटिका निवर्तमान अध्यक्ष प्रेमनाथ दुवाडी, उद्योग वाणिज्य संघ रत्ननगरका अध्यक्ष ज्ञानबहादुर बिसुराल, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) चितवनका अध्यक्ष सन्तकुमार चौधरी, गामवेशी चेपाङ संरक्षण केन्द्रका अध्यक्ष केपीकिरण शर्मालगायतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा साँस्कृतिक प्रस्तुती समेत देखाईएको थियो । कार्यक्रम समाजका अध्यक्ष रमेश राना मगरको अध्यक्षतामा सम्पन्न भएको थियो ।