काठमाडौ,फागुन २-
ललितपुरको छम्पी क्षेत्रमा रहेका सरकारी विद्यालयका विद्यार्थीलाई क्रिस्चियन संस्थाले निजी बोर्डिङ स्कूलमा भर्ना गराइदिएपछि सरकारी विद्यालयहरू समस्यामा परेका छन्।
जर्मन नागरिक ओमारीले ‘ओम सिभम वेलफर सेन्टर’ नामक संस्था खोलेर सरकारी विद्यालयका विद्यार्थीलाई निजी विद्यालयमा पठाएका हुन्।उनले आफैंले खोलेको अर्को संस्था मार्फत पनि सरकारी विद्यालयका विद्यार्थीलाई निजी विद्यालयमा पठाएका छन्।
छम्पी क्षेत्रका छम्पीदेवी उच्च मावि, बुद्ध मावि, गणेश प्रावि लगायत विद्यालयमा रहेका विद्यार्थीलाई यी संस्थाले सम्पूर्ण पढाइ खर्च बेहोरेर बोर्डिङ स्कूलमा भर्ना गराइदिएका हुन्।
संस्थाले छम्पी क्षेत्रमै रहेका टीकाभैरव बोर्डिङ स्कूल, नोबल एकेडेमी, होली टेम्पल लगायतका बोर्डिङ स्कूलमा विद्यार्थी भर्ना गराइदिएको छम्पीदेवी उच्च माविका प्रधानाध्यापक सुरथ गौतमले बताए।