सन्तकुमार चौधरी
चितवन माघ २९ –
नेकपा एमाले चितवनका अध्यक्ष एवम् चितवन क्षेत्र नं. ३ का सभासद् कृष्णभक्त पोखरेलले नेपालको राष्ट्रियता संकटतर्फ उन्मुख हुँदै गएको बताउनुभएको छ । सरकार र मधेशी मोर्चाका केही नेताहरुका कारण नेपालको राष्ट्रियता संकट तर्फ उन्मुख हुँदै गएको बताउनुभएको हो । भरतपुरको वडा नं. ३ मा शनिवारदेखि सुरुभएको घरदैलो कार्यक्रम अन्तर्गत नारायणगढमा संवोधन गर्दै उहाँले नेपालको राष्ट्रियता संरक्षण गर्न आफ्नो पार्टीलाई सहयोग गर्न आग्रह गर्नुभयो ।
संविधान संशोधनको नाममा नेपाली राष्ट्रियता माथी राजेन्द्र महतो जस्ताले अंकुश लगाउन खोजेकाले सचेत रहन समेत उहाँले सुझाव दिनुभयो । उहाँले सरकार र मोर्चाका केही नेताहरुकै कारण नेपाली भाषा देखि नेपाली संस्कार सम्म संकटमा पर्दै गएकाले चिन्ता व्यक्त गर्नुभयो । नेकपा एमाले पार्टीको १५ दिने अभियान अन्तर्गत चितवनमा पनि एमाले पार्टीले ग्रामिण तह सम्म घरदैलो कार्यक्रमलाई तीब्र पारेको छ ।