चितवन,माघ २६-
अर्घाखाँचीकी ४५ वर्षीय धनकला भुसाल माग १० गतेदेखि भरतपुरस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा उपचारको लागि पर्खाइमा छिन् । आन्द्रामा घाउ भएपछि असार २१ गते अप्रेशन गरेकी उनी केमु थेरापीको लागि क्यान्सर अस्पतालमा १५ दिनदेखि लाइनमा बसेकी हुन् । गत फागुनमा सामान्य पेट दुखेपछि जाँच गराउँदा आन्द्रामा घाउ भएको थाहा पाएपछि उनी श्रीमान् नारायणप्रसाद भुसालको साथमा उपचारका लागि भरतपुर आइन् । उपचारका लागि असारमा क्यान्सर अस्पताल आउँदा अस्पतालले तपाईँको पालो असोजमा मात्रै आउँछ भनेपछि महँगो रकम तिरेर भरतपुरकै पुष्पाञ्जली अस्पताल प्रालिमा उनको अप्रेशन भयो । ‘त्यतीका समयसम्म रोग पालेर बस्नुभन्दा समयमै उपचार गरौँ, भनेर निजी अस्पतालमा उपचार गरियो,’ उनले भनिन्, ‘उपचार गर्नै छ त पैसाको मुख मात्रै हेरेर पनि भएन ।’
तर, अप्रेशन गरिसकेपछि उनलाई १२ पटक केमोथेरापी गर्नुपर्ने चिकित्सकले सल्लाह दिए । अहिलेसम्म ६ पटक केमुथेरापी गरिकेकी भुसाल सातौँ पटकको केमुथेरापीको लागि विगत १५ दिनदेखि अस्पतालमा पालो पर्खेर बसेकी हुन् । ‘दैनिक १०÷१२ जना बिरामीहरु केमुथेरापीको लागि लाइनमा हुन्छन्,’ उनी भन्छिन्, ‘आजसम्म पाले आएको छैन । अझै कति दिन बस्नुपर्ने हो थाह छैन ।’ एकजनाको लागि बेड खाली भएमा लाइनमा रहेका बिरामीहरुलाई गोलाप्रथा गरेर मात्रै बेड पाइने उनले बताइन् । ‘पालो पाउने आशमा चार पटकसम्म गोलाप्रथामा चिट थुत्दा पनि परेन,’ उनले भनिन्, ‘उपचारको लागि पनि भाग्य चाहिँदो रहेछ ।’
माघ १२ गते नै केमु चढाउनुपर्ने भए पनि पालो नपाउँदा अहिलेसम्म चढाउन नपाएको बताउँछन्, उनका श्रीमान् नारायणप्रसाद भुसाल । ‘अस्पतालले बेड उपलब्ध गराउन नसक्दा आधा महिना बितिसक्दा समेत केमु चढाउन पाइएन,’ उनले गुनासो गरे । समयमा उपचार नपाएपछि बाँकी गरिसकेका उपचारको पनि अर्थ नभएको उनी बताउँछन् ।
होटलमा दैनिक एक हजार रूपैयाँ तिरेर बस्दै आएका उनीहरुको श्रीमान् श्रीमती हरेक दिन पालो आउला भन्दै बिहानैदेखि दिउँसो तीन बजेसम्म कुरेर बस्छन् । ‘डाक्टरलाई भन्दा दैनिक सम्पर्कमा रहनुस्, बेड खाली भएपछि तपाईँको पालो आउँछ,’ धनकलाले भनिन्, ‘डाक्टरहरुसँग पनि दैनिक झगडा गरिरहनुपर्छ ।’ अस्पतालका डाक्टरहरुसँग भन्दा प्रशासनमा पठाउने र प्रशासनमा जाँदा त्यहीँ भन्नु भन्दै आलटाल गरिरहेको उनले बताइन् । अस्पतालको लापारबाहीका कारण बिरामीको ज्यान पनि जोखिममा पर्ने र भएका पैसा पनि सकिनेबाहेक कुनै उपलब्धि नभएको उनको भनाइ छ ।
कञ्चनपुरका मनोजकुमार बुढा पनि आफ्नी आमाको उपचारको लागि गत शुक्रबारदेखि नै भरतपुरमा छन् । गत साउनमा आमा बिरामी भएपछि भारत लगेर जाँच गराउँदा स्तन क्यान्सर भएको थाहा पाई उपचारका लागि उनी आमालाई लिएर भरतपुर आएका हुन् । भदौ मै अप्रेशन भए पनि एक महिनापछि केमु थेरापी गर्नुपर्ने चिकित्सकको सल्लाहअनुसार ६ पटकसम्म केमुथेरापी गराए । चिकित्सकको सल्लाहअनुसारको केमुथेरापी पूरा गरिसकेपछि सीटीस्क्यान गरे । तर, सीटीस्क्यानको रिपोर्टको लागि तीनदिनसम्म कुर्नुपरेको उनले बताए । सरकारी अस्पताल भएकैले बिरामीले पाउनुपर्ने सेवासुविधामा गम्भीर लापारबाही भएको उनको भनाइ छ । ‘यदि यही अस्पतालको ठाउँमा निजी अस्पताल हुन्थ्यो भने, सायद यस्तो हुन्थेन,’ उनले भने । खर्चले धान्न नसक्ने अवस्था आएपछि होटलमा बसे पनि खाना भने आफैँ बनाएर खाने गरेको उनले बताए ।
रुपन्देहीकी सालहा फकिर मुसलमान विगत १० वर्षदेखि रक्तक्यान्सरबाट ग्रस्त छिन् । उनले उपचारका लागि माइतीले दिएको गहना र पैसा सबै सकाइन् । तर, उनको उपचार भने सकिएको छैन । उनी हरेक महिना उपचारकै लागि भरतपुर आउँछिन् । ‘हरेक महिना फ्रेस रगत चढाउनुपर्छ,’ गहभरी आँसु पार्दै उनले भनिन्, ‘यसअघि श्रीमान्लाई साथमा लिएर आए पनि धेरै पटक आउँदा जाँदा खर्च बढी हुने भएकोले यसपटक एक्लै आएँ ।’
माथिका यी पात्रहरु उदाहरण मात्रै हुन् । उनीहरुजस्तै धेरै बिरामीहरुले समयमै उपचार नपाएका घटनाहरु धेरै छन् । अस्पतालको चरम लापारवाहीका कारण बिरामीले समयमा उपचार पाउनुको साटो उल्टै सास्ती खेप्न बाध्य भएको उपभोक्ता अधिकार संरक्षण मञ्च चितवनका उपाध्यक्ष विष्णुप्रसाद भुसालले बताए । अस्पतालको अवस्था समयअनुसार सुध्रिँदै जानुपर्नेमा उल्टै खस्किँदै गएको उनको भनाइ छ ।
मञ्चकी सदस्य तारा बरालले बिरामीको उपचारको नाममा मानव जीवनमाथी गम्भीर खेलवाड गरिरहेको आरोप लगाइन् । अस्पतालका कर्मचारी र अस्पताल प्रशासनले लामो समयसम्म बिरामीलाई कुराएर दोहोरो मारमा पारेको उनको भनाइ छ ।
अस्पतालका विषयमा नकारात्मक समाचारहरु बाहिर आइरहे पनि अस्पतालको सुधार हुन नसकेको मञ्चकी सदस्य सानुमैया शाक्यले बताइन् । भरतपुर–८ गौरीगञ्जका सुरजप्रताप राणाले अझै पनि अस्पताल प्रशासनले आफ्नो कमीकमजोरी नसच्याएकोले जनताले दुःख पाइरहेको बताए । यस्तै गौरीगञ्जकै कृष्ण दुवाडीले सरकारी काम भएकोले लापारबाही हुन नछाडेको बताए ।
अर्कोतर्फ अस्पताल प्रशासनले भने अस्पतालमा आवश्यक स्रोतसाधन नभएकोले बिरामीले समस्या भोग्न बाध्य भएको बताएको छ । अस्पतालका उपनिर्देशक डा.देजकुमार गौतमले केमुथेरापीका लागि एउटै बिरामी लामो समयसम्म बस्नुपर्ने हुँदा अरुले पालो नपाएको बताए । ‘हाम्रा लागि अस्पतालकै नजिकैको बिरामी र जुम्ला कञ्चनपुरका बिरामीबीचको दूरी बराबर हुन्छ,’ उनले भने, ‘कोही काखा कोही पाखा छैन ।’ तर, अस्पतालको कमिकमजोरीको विषयमा अस्पतालका कार्यकारी निर्देशक र अस्पतालका अध्यक्षले बोर्ड बैठक नबोलाउँदा समस्या माथि समस्या थपिँदै गएको आरोप लगाए । गोलाप्रथाको विषयमा आफूलाई थाह नभएको र यस विषयमा आवश्यक छानबिन गर्ने उनले बताए ।चितवन पोष्ट दैनिकवाट