चितवन,माघ २६-
धुर्मुस सुन्तली फाउण्डेशनले निर्माण गरिरहेको महोत्तरीको बर्दीबासस्थित एकीकृत नमुना मुसहर बस्तीको ३० प्रतिशत काम सकिएको छ। एक महिनाअघि महजोडीले बस्तीको शिलान्यास गरेका थिए।
बस्तीमा अहिले घरको झ्याल र ढोका हाल्ने काम सुरु भइसकेको छ। ‘मुसहरहरुको अनुहारमा छुट्टै खुसी आएको छ,’ परियोजनाका संयोजक अर्जुन न्यौपानेले भने, ‘अब बस्ती पाउछौं भनेर दिनरात बस्ती निर्माणमा खटिरहनुभएको छ।’
उता अष्ट्रेलियामा भएका कार्यक्रमबाट धुर्मुस सुन्तलीले ६५ लाख सहयोग संकलन गरेका छन्।
फाउण्डेशनलाई बस्ती निर्माणका लागि विभिन्न संघसंस्था तथा व्यक्तिगत रुपमा सहयोग गर्ने सहयोगी मनहरु बढिरहेको फाउण्डेशनका लेखा अधिकृत सरोज खत्रीले जानकारी दिए। अहिलेसम्म फाउण्डेशनको बैंक अफ काठमाडौंको खातामा ८७ लाख २४ हजार सहयोग रकम जम्मा भएको छ भने कृषि बिकाश बैंकको खातामा १ करोड १५ लाख भन्दा बढी जम्मा भएको छ।
गिरानचौर परियोजनाबाट बाँकी रहेको १ करोड बराबारको रकमसहित फाउण्डेशनको खातामा २ करोड बराबरको रकम संकलन भएको छ।
एकीकृत नमुना मुसहर बस्ती निर्माणका लागि ४ करोड ७८ लाख लगानी लाग्ने अनुमान गरिएको छ। परियोजनाको अनुमानित रकमका लागि अझै २ करोडभन्दा बढी सहयोग चाहिने लेखा अधिकृत खत्रीले बताए।