ललितपुर,माघ २२ –
नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले नेपालमा प्रजातन्त्र स्थापनाका लागि मगर समुदायको योगदान उल्लेखनीय रहेको बताउनुभएको छ ।
नेपाल राष्ट्रिय मगर सङ्घद्वारा आज नेका पार्टी कार्यालय सानेपामा आयोजित राष्ट्रिय प्रशिक्षक प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले नेपालमा प्रजातन्त्र तथा लोकतन्त्र स्थापनामा मगर समुदायको भूमिका प्रशंसनीय रहेको बताउनुभएको हो । यस समुदायबाट काँग्रेस पार्टीमा प्रतिनिधित्व बढाउने प्रतिवद्धता समेत उहाँले व्यक्त गर्नुभयो ।
काँग्रेस प्रजातान्त्रिक अभ्यास र संस्कृतिलाई विश्वास गर्ने पार्टी रहेको उल्लेख गर्दै उहाँले बहुदलीय व्यवस्थामासम्पूर्ण नेपालीको अधिकारलाई सुनिश्चित गर्न सकिने धारणा व्यक्त गर्नुभयो ।
नेपाल तरुण दलका अध्यक्ष जितजङ्ग बस्नेतले देशभित्र राजनीतिक समस्या चुनौतीपूर्ण बन्दै गएको बताउनुभयो ।
उहाँले सामाजिक संरचना भत्किन थालेको र आर्थिक रुपले देश तल झर्दै गएको पनि बताउनुभयो । दुई दिनसम्म चल्ने उक्त प्रशिक्षण कार्यक्रममा देशभरिबाट एक सय ९५ जना प्रतिनिधिले भाग लिएको सङ्घका अध्यक्ष गणेश थापामगरले बताउनुभयो ।
प्रशिक्षण कार्यक्रमका प्रशिक्षकमा गगन थापा, धनराज गुरुङ, जीवन परियार, छन्द पहराई, गोवद्र्धन राना र गुरुराज घिमिरे रहेका छन् । – रासस