राजविराज, माघ २२ –
अपहरण तथा शरीर बन्धकको आरोपित फरार एक व्यक्तिलाई प्रहरीले छ वर्षपछि सप्तरीको वनैनियाँबाट पक्राउ गरेको छ ।
पक्राउपर्नेमा सप्तरी वनैनियाँ गाविस– ५ का विक्रम भनिने इस्लाम मियाँ रहेको छ । प्राप्त सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले घरमा लुकेको अवस्थामा उनलाई आज पक्राउ गरिएको सप्तरीका प्रहरी उपरीक्षक दिवेश लोहनीले बताउनुभयो ।
मियाँमाथि सप्तरीको ब्रह्मपुर गाविस– ७ का औषधि पसल सञ्चालक पुनित चौधरीलाई पसल बन्द गरेर घर फर्किने क्रममा २०६७ साल माघ १३ गते राति अपहरण गरेको आरोप छ ।
अपहरणपछि चौधरीका काका जयशङ्कर चौधरीले जिल्ला प्रहरी कार्यालयमा मियाँसहित अपहरण गर्ने पाँचजना विरुद्ध किटानी जाहेरी दिएका थिए ।
पक्राउ परेका मियाँ विरुद्ध अनुसन्धान कार्य भइरेहेको र फरार अन्य व्यक्तिको खोजी जारी रहेको प्रहरी उपरीक्षक लोहनीले बताउनुभयो । – रासस