काठमाडौं, माघ २१-
सरकारले आगामी फागुन १ देखि बाथ मुटुरोगीको भल्व शल्यक्रिया निःशुल्क गर्ने व्यवस्था गरे लगत्तै बाथ मुटुरोग लाग्न नदिने र प्राथमिक चरणमा उपचार गर्नका लागि आवश्यक औषधिसमेत निःशुल्क वितरण गर्ने भएको छ।
स्वास्थ्य मन्त्री गगन थापाले रोग लागिसकेपछिको शल्यक्रिया निःशुल्क गरेसँगै रोग लाग्नै नदिन र प्राथमिक चरणमा रहेको समस्याको निदानका लागि देशैभरि औषधिसमेत निःशुल्क गर्न लागिएको बताए। उनले यसका लागि मन्त्रालयले आवश्यक तयारी पूरा गरिसकेको जानकारी दिए। ‘बाथ मुटुरोग लाग्न नदिन र प्राथमिक चरणमा उपचार गर्नका लागि आवश्यक औषधि देशैभरि निःशुल्क गर्न लागेका छौँ,’ उनले भने, ‘औषधि कसरी उपलब्ध गराउने भन्ने तयारी भइसकेको छ, केही दिनमै यसबारे जानकारी सार्वजनिक गर्नेछौँ।’
मन्त्री थापाले माघ १५ गते शहीद गंगालाल हृदय केन्द्रको वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा बाथ मुटुरोगीको निःशुल्क शल्यक्रिया गर्ने घोषणा गरेका थिए। हृदय केन्द्रमा हुने मुटुको कुल शल्यक्रियामध्ये ३० प्रतिशत बाथ मुटु रोगले गर्दा भल्भको शल्यक्रिया हुने गरेको छ। मुटुरोग विशेषज्ञ डा. प्रकाशराज रेग्मीका अनुसार निःशुल्क शल्यक्रियाको व्यवस्थापछि यो रोगले गर्दा भल्भ फेर्नुपर्ने अवस्थामा रहेका हजारौं बिरामीलाई राहत पुग्नेछ।
उनका अनुसार बाथ मुटुरोग बालबालिकामा मात्र लाग्ने रोग हो तर बाथ मुटुरोग लागेर उपचार भएन भने जीवनभर दुःख दिन्छ। यो रोग ३ देखि १५ वर्ष उमेरका बालबालिकामा ‘ग्रुप ए बिटा हेमोलाइटिक स्ट्रेप्टोकोकस’ नामक ब्याक्टेरियाका कारण लाग्ने गर्छ। यो ब्याक्टेरियाले घाँटीमा संक्रमण गरेपछि बाथ मुटुरोग लाग्छ।