काठमाडौं,माघ १८ –
प्रमुख दलहरु समानुपातिक निर्वाचन प्रणालीमा ३ प्रतिशत थ्रेसहोल्ड राख्ने सहमतिको नजिक पुगेका छन् ।
शीर्ष तहमा अनौपचारिक सहमतिपछि राज्य व्यवस्था समितिले मंगलबारै राजनीतिक दल सम्बन्धी बिधेयक पारित गरेर संसद बैठकमा पठाउने तयारी गरेको छ ।
साना दलले थ्रेस होल्डको तीब्र बिरोध गरेका छन् । साना दलहरुले मंगलबार नै कांग्रेस सभापति शेरबहादुर देउवालाई भेटेर थ्रेस होल्ड नराख्न माग गरेका छन् ।
थ्रेस होल्डको नेकपा माले, नेपाल मजदूर किसान पार्टी लगायतले पनि बिरोध गरेका छन् । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा थ्रेस होल्डबारे मौन छ तर, मोर्चा आबद्ध अधिकांश दलहरुले थ्रेस होल्डको विरोध गरेका छन् ।
यदि तीन प्रतिशत थ्रेस होल्ड राखियो भने अहिलेका अधिकांश एक सिट र दुई सिट रहेका साना दलको अस्तित्व अर्को चुनावमा समाप्त हुनेछ ।
तीन प्रतिशत थ्रेस होल्डमा सहमति जुट्न लागेको राज्य व्यवस्था समिति अन्तर्गत गठित उपसमितिका सदस्य एवं एमाले सांसद रामेश्वर फुयाँलले बताए ।
तर, साना दलहरुको विरोध रहेको भन्दै माओवादी केन्द्रले डेढ प्रतिशत थ्रेस होल्ड राखे पनि हुने बताएको छ ।
निर्वाचन चिन्ह सम्बन्धी विवाद पनि सल्टिएको छ । राष्ट्रिय झण्डासँग मिल्ने चुनाव चिन्ह खारेज हुने भन्ने दफा नै हटाइएको छ । यो दफा नै हटेपछि एमालेको सूर्य र राप्रपाको गाई चुनाव चिन्ह जोगिएका छन् ।
त्यस्तै बिभिन्न दलहरु मिलेर एउटै गठबन्धन बनाई एउटै चुनाव चिन्ह प्रयोग गर्न पाउनुपर्ने मागलाई उपसमितिले अस्वीकार गरेको छ । बिचार मिल्ने दलहरु चुनावमा गठबन्धन बनाएर जाँदा कुनै एक चिन्हलाई साझा चिन्हका रुपमा प्रयोग गर्न पाउनुपर्ने गरी संशोधन पेश भएको थियो ।
स्थानीय तह सम्बन्धी बिधेयक पनि मंगलबार नै टुंगो लगाउने तयारी भइरहेको छ ।
स्थानीय तह र राजनीतिक दल सम्बन्धी दुवै बिधेयक राज्य व्यवस्था समितिले पारित गरेर संसदमा पठाउने भएको छ । संसदले यी दुई बिधेयक पारित गरेपछिमात्र निर्वाचन सम्बन्धी काम अघि बढाउन बाटो खुल्नेछ ।