राजविराज, माघ १४ –
दशवर्षीय देवरको हत्या गर्ने महिलालाई राजविराज जिल्ला अदालतले सर्वस्वसहित जन्मकैदको सजाय सुनाएको छ । जिल्ला अदालतका न्यायाधीश शङ्करबहादुर राईको इजलासले बालक हत्यामा कसुर ठहर गर्दै सञ्जीलादेवी साह यादवलाई सर्वस्वसहित जन्मकैदको सजाय सुनाएको हो ।
स्थानीय फकिरा गाविस–५ घर भएका हाल राजविराज नगरपालिका–५ मा बस्दै आएकी २२ वर्षीया साहले आफ्नै देवर प्रमोदकुमार साहको गत वैशाख २७ गते हत्या गरेकी थिइन् ।
बालक प्रमोदलाई कुटपिट गरेर हत्या गरी घरदेखि ६०० मिटर दक्षिण राजविराज नगरपालिका–६ स्थित नालाको कल्भर्टमा उनले शव फालेकी थिइन् । मृतकका बुबा उमेशकुमार साहले निजआरोपित बिरुद्ध गत वैशाख २८ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिनुभएको थियो । – रासस