चितवन, माघ १३–
व्यवस्थापिका संसद सदस्य रामकृष्ण घिमिरेले देशको विकासका लागि स्थानिय तहको निर्वाचन आवश्यक रहेको बताउनु भएको छ ।
सल्यानी टोल बाटो निर्माण उपभोक्ता समिति र प्रतिभा टोलि विकास संस्थाको बाटो निरीक्षण तथा उद्घाटन गर्दै उहाँले यस्तो बताउनु भएको हो । देशको राजनैतिक संक्रमणका कारण विकास निर्माणमा असहज बन्दै गएको र अवको स्थानीय तहको निर्वाचन पछि विकास निर्माणले फड्को मार्ने उहाँले बताउनु भयो । अहिले सरकारले स्थानीय निकायको निर्वाचनको तयारी थालिरहेको भन्दै यसमा लाग्न समेत उहाँले कार्यकर्ताहरुलाई आग्रह गर्नु भयो । राजनैतिक स्थिरता कायम भए समाजको विकासका लागि समय नलाग्ने उहाँको विश्वास थियो ।
घिमिरेले क्षेत्र विकास कार्यक्रम अन्तर्गत दुई वटा सडकका लागि १०/१० लाख रुपैयाँ विनियोजन गर्नु भएको थियो । सो अवसरमा बोल्दै स्थानिय उपभोक्ताहरुले विकासका कार्यक्रमहरुलाई राज्यले प्रथामिकामा राख्न नसक्नुले सोँचे जस्तो विकास हुन नसकेको बताएका थिए । जनताको चाहना अनुसार काम गर्नु पर्ने भन्दै उनिहरुले छिट्टै देशलाई विकासको गतिमा लैजान समेत आग्रह गरेका थिए ।
कार्यक्रममा नेपाली काँग्रेस वडा नम्वर ८ का सभापति जगन्नाथ कँडेल, नेकपा एमालेका नवराज खनाल, नेपाली काँग्रेस क्षेत्रीय सदस्य कमला रानाभाट सकुन्तला तिमिल्सीना लगाएतले बोलेका थिए ।