चितवन, माघ १३–
पूर्वी चितवनको कुमरोज स्वास्थ्य चौकी सम्मानित भएको छ । स्वास्थ्य चौकी सञ्चालन तथा व्यवस्थापन समिति कुमरोजले आज बिहीबार एक भव्य कार्यक्रमका बीच स्वास्थ्य चौकीलाई सम्मान गरेको हो ।
स्थानीय विकास अधिकारी श्रवणकुमार पोखरेलको प्रमुख आतिथ्यता तथा स्वास्थ्य चौकी सञ्चालन तथा व्यवस्थापन समिति कुमरोजका अध्यक्ष छन्नुप्रसाद चौधरीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा स्वास्थ्य चौकीसँगै व्यवस्थापन समिति, कुमरोज स्वास्थ्य चौकीमा कार्यरत सबै कर्मचारी, कुमरोज क्षेत्रमा कार्यरत ९ जना स्वयम् सेविका र एचसीथ्री परियोजना अन्तरगत कुमरोज क्षेत्रमा कार्यरत साथी सहजकर्ता प्रतिमा चौधरीलाई प्रशंसा पत्र प्रदान गरिएको थियो ।
कार्यक्रममा स्वास्थ्य मन्त्रालय राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रका कुञ्जप्रसाद जोशी, यूएसएआइडी÷एचसीथ्री नेपाल परियोजना चिफ अफ पार्टी रन ह्यास, बरिष्ठ जिल्ला कार्यक्रम विशेषज्ञ थानेश्वर कोइराला, खैरहनी नगरपालिकाका कार्यकारी अधिकृत गंगाबहादुर भुजेल, जिल्ला जनस्वास्थ्य कार्यालय चितवनका बरिष्ठ जनस्वास्थ्य प्रशासक विजयकुमार झा लगायतको उपस्थिति रहेको थियो ।
कुमरोज स्वास्थ्य चौकीबाट प्रदान गरिंदै आएको सेवा गुणस्तरीय बनाउने पहल स्वरुप ३ महिना अघि सम्पन्न त्रिपक्षीय छलफल कार्यक्रमबाट बनाइएको कार्ययोजना समय मै सम्पन्न भएपछि सम्मान स्वास्थ्य चौकीलाई सम्मान गरिएको हो । कार्ययोजनामा समावेश परामर्श कक्ष निर्माण, सूचना, शिक्षा कर्नर स्थापना, स्वास्थ्य संस्थामा पानीको व्यवस्थापन, खोप केन्द्र बनाउन जिल्ला जनस्वास्थ्यमा पहल, स्वास्थ्य चौकी सञ्चालन तथा व्यवस्थापन समितिको नियमित बैठक सम्पन्न गर्ने विष समावेश गरिएको थियो । उल्लेखित कार्ययोजना समय मै सम्पन्न भएको विषयमा स्वास्थ्य संस्था सम्मान कार्यक्रममा स्वास्थ्य चौकी इञ्चार्ज इमामुदिन मियाँले प्रस्तुत गर्नु भएको थियो भने व्यवस्थापन समितिका सदस्य तेजप्रसाद बर्तौलाले स्वागत मन्तव्य व्यक्त गर्नु भएको थियो ।
नेपालमा हुने अनिच्छुक गर्भधारणमा कमी ल्याउन सहयोग गर्ने लक्ष्यका साथ एचसीथ्री नेपाल परियोजना सञ्चालित छ । स्वास्थ्य सञ्चारको माध्यमले बढी अपरिपूर्त माग भएका समूहलाई परिवार नियोजन तथा प्रजनन् स्वास्थ्य सम्बन्धी स्वस्थ व्यवहारको प्रयोग बृद्धीमा जोड दिनु परियोजनाको उद्देश्य रहेको छ । लक्ष्य तथा उद्देश्य प्राप्तिका लागि चितवन जिल्लाका लक्षित भरतपुर–२, फुलवारी, कविलास, सिद्दी, दाह्रेचोक, खैरहनी, कुमरोज, कठार, भण्डारा र कोराक गरी १० स्थानमा साथी सहजकर्ता परिचालन गरी युवा र युवा दम्पत्ति, सिमान्तकृत र अवसरबाट बञ्चित समूह र प्रवासी कामदारलाई लक्षित गरेर कार्य सञ्चालन भइरहेको छ ।
चितवनसहित नेपालका १३ जिल्लामा सञ्चालित यो परियोजना सन् २०१७ सेप्टेम्बर सम्म सञ्चालन हुने एचसीथ्री नेपाल परियोजनाका चितवन जिल्ला संयोजक जया बुढाथोकीले जानकारी दिनु भयो ।