काठमाडौं,माघ १३ –
चिकित्सक निस्कासनलाई लिएर सुरु भएको विवादसँगै पोखरास्थित गण्डकी मेडिकल कलेज बन्द भएको ४५ दिनभइसक्यो । तर, न त पठनपाठन सुरु भएको छ, न अस्पताल नै खुल्न सकेको छ ।
पछिल्ला केही दिनदेखि वार्ता भने चलिरहेको छ । तर, सहमति हुन सकेको छैन ।
गण्डकी मेडिकल कलेजमा कार्यरत डा। विनम्र बस्नेत र डा। विवेक रञ्जितकारलाई अस्पतालले निष्कासित गरेपछि विवाद सुरु भएको थियो ।
निष्कासित चिकित्सकहरुको पुनर्बहाली गर्नुपर्ने, करारमा रहेका कर्मचारीलाई स्थायी गर्नुपर्ने, तलव वृद्धि र समयमै तलव पाउनुपर्ने चारबुँदे माग राख्दै डा। गोपी हिराचन नेतृत्वको मेडिकल कलेजका फ्याकल्टी एशोसिएसनले मंसिर २८ गतदेखि आन्दोलन सुरु गरेको थियो ।
आन्दोलनका क्रममा अस्पताल प्रशासन र अन्दोलनरत पक्षबीच छ पटकभन्दा बढी वार्ता भइसकेको छ । तर, सहमति हुन सकेको छैन । निष्कासित चिकित्सकको पुनर्वाहली बाहेकका मागमा लगभग सहमति भैसकेको अस्पताल प्रमुख कार्यकारी निर्देशक सन्तोष कुमार खनालले जानकारी दिए ।
तर, आन्दोलनरत पक्षले निस्कासित चिकित्सकको पुनर्वाहलीको अडान छाडेका छैनन् ।
वार्तामा अस्पताल प्रशासनले करार अवधी सकिएकाले काममा राख्ने नराख्ने निर्णय अस्पतालमा निहीत हुने तर्क गर्दै आएको छ । ‘करारमा नियुक्ति गरिएका कर्मचारीलाई करार अवधी सकिएपछि राख्नै पर्छ भन्ने जरुरी हुँदैन । तैपनि भोलिका दिनमा कर्मचारीको आवश्यक परे उनै चिकित्सकलाई पहिलो प्राथमिकता दिन सकिन्छ भन्ने हाम्रो भनाइ हो,’ निर्देशक खनालले भने ।
उनका अनुसार तलव वृद्धि र समयमै तलव पाउनु पर्ने माग पूरा गर्न अस्पताल प्रशासनले दुई हप्ताको समय मागेको छ । र, गत पुस १ गतेदेखि नै लागू हुने गरी समयसापेक्ष तलब वृद्धि गर्ने प्रतिवद्धता जनाएको छ ।
संघर्ष समितिका सचिव डा। तारानाथ कोइरालाले वार्ता भइरहेको तर, सहमति हुन बाँकी रहेको बताए । अस्पताल प्रशासनले चिकित्सक पुनर्वहालीको मागमा सहमति भए भोलिदेखि नै अस्पताल सुचारु हुने बताएको छ ।
अस्पतालमा हाल ७ सय बढी कर्मचारी छन् । करिब ५५० बेडको अस्पतालमा जाडोको समयमा दैनिक छ सय विरामी आउने गरेकोमा अस्पतालमा इमर्जेन्सी बाहेकका सबै सेवा बन्द हुँदा विरामी अन्यत्र जान बाध्य छन् । साथै कलेजमा अध्ययनरत विद्यार्थीहरुको पढाई नराम्ररी प्रभावित भएको छ ।