इलाम, माघ १२–
भारतीय पक्षले इलामको पशुपतिनगर ४ फाटक र भारतको राङवाङ ग्रामपञ्चायतबीच रहेको दसगजा क्षेत्रमा गुम्बा मर्मत भन्दै धमाधम नयाँ पक्की गुम्बा बनाउन थालेपछि नेपाल सरकारले काम रोक्न गरेको आग्रहलाई भारतीय पक्षले बेवास्ता गरेको छ ।
परराष्ट्र मन्त्रालयका सहसचिव भृगु ढुंगानाले गुम्बा निर्माणको खबर आएपछि भारतीय पक्षसँग पत्राचार गरेर काम रोक्न आग्रह गरेको जानकारी दिएको आजको अन्नपूर्ण पोष्टमा खबर छ । पशुपतिनगरका अगुवा मिलन क्षेत्रीले भारतले आश्वासन दिए पनि काम नरोकिएको बताए । एक महिनाअघि काम सुरु भएपछि स्थानीय प्रशासनलाई जानकारी गराए पनि कुनै पहल नभएको गुनासो क्षेत्रीले गरे । सहसचिव ढुंगानाले भने सीडीओसँग गुम्बा निर्माण रोक्न पहलका लागि आग्रह गरेका छन् ।
सहसचिव ढुंगानाले सीमाक्षेत्रमा सीमा निर्धारण टोली खटिएको अवस्थामा दसगजामा काम हुनु गलत भएको बताए । सीमा प्रशासन कार्यालय पशुपतिनगरका प्रमुख मोहन पनेरूले पछिल्लो अवस्थाबारे माथिल्लो निकायलाई जानकारी गराएको बताए । स्थानीय स्तरमा के गर्ने भनेर माथिल्लो निकायबाट कुनै जानकारी नआएको उनले बताए ।