वासिङटन, माघ ७–
अमेरिकी राष्ट्रपति डोनाल्ड जोन ट्रम्पले सपथ ग्रहण लिएका छन् । अमेरिकी कंग्रेस भवन क्यापिटोल हिलको पश्चिम क्षेत्रको अगाडिको भागमा आयोजित एक भव्य समारोहकाबीच ७० वर्षीय ट्रम्पलाई सर्वोच्च अदालतका प्रधानन्यायाधीश जोन रोबर्टस जुनियरले ४५ औं राष्ट्रपतिको रुपमा पद तथा गोपनियताको सपथ खुवाएका हुन् ।
दाहिने हात उठाएर, बायाँ हात बाईबालमा राख्दै सपथ लिने परम्परा अनुरुप ट्रम्पले श्रीमती तथा नयाँ प्रथम अमेरिकी महिला मेलानिया ट्रम्पको हातमा रहेको बाईबलमा हात राख्दै सपथ लिएका थिए । स्थापनादेखि नै अमेरिका धर्म निरपेक्ष मुलुक भए पनि बाईबल छोएर सपथ लिने परम्परालाई अमेरिकी राजनीतिमा धर्मको बलियो प्रभावको रुपमा वश्लिेषण गरिन्छ ।
गतवर्षको निर्वाचनमा अप्रत्यासित जित हासिल गरेका ट्रम्पले सपथ अघि राष्ट्रपतिहरुको चर्चको रुपमा परिचित सेन्ट जोन्स चर्चमा पुगेर प्रार्थना गरेका थिए । निवर्तमान राष्ट्रपति ओबामासँगै गाडीमा सवार हुँदै उनी ह्वाइट हाउसबाट सपथ ग्रहण स्थलमा पुगेका थिए ।
उनीसँगै उपराष्ट्रपति माइक पेन्सले पनि सपथ लिएका छन् । ट्रम्पभन्दा अघि उनलाई सर्वोच्च अदालतका न्यायाधीशले सपथ खुवाएका थिए ।