चितवन,माघ ५-
पुस २५ गतेदेखि नारायणी नदी किनारमा सञ्चालन भएको ११औँ चितवन महोवत्सव समापन भएको छ । उद्योग मन्त्री नविन्द्रराज जोशीले बुधबार महोत्सवको समापन गरेका हुन् । महोत्सव समापनका अवसरमा आयोजकले महोत्सवमा उत्कृष्ट स्टल राख्ने, महोत्सव उद्घाटनका दिन आयोजना गरिएको शोभायात्रामा उत्कृष्ट हुने समूलाई सम्मान गरेको छ ।
त्यसैगरी, नगरमा जथाभावी फालिने फोहोरलाई सुइरो कार्यक्रम मार्फत नगर सरसफाईमा जुटेका सुइरो कार्यक्रम नारायणगढका डिल्लीराम सापकोटालाई जिल्ला विकास समिति चितवनका तर्फबाट नगद पाँच हजार रुपैयाँ सहित सम्मान गरिएको छ । कार्यक्रममा पुरस्कृत गर्दै स्थानीय विकास अधिकारी श्रवण कुमार पोखरेलले नगरको सफाइमा जुटेका सापकोटाको उच्च मूल्यांकन गर्दै कदर गरिएको बताए । राम्रो काम गर्नेलाई जिल्ला विकास समिति चितवनले सधैँ प्रोत्साहन गर्ने पोखरेलको भनाइ थियो ।
समापनका अवसरमा स्टल मूल्यांकन समितिले चार सय स्टलमध्ये विभिन्न १० वटा क्षेत्रमा स्टललाई वर्गीकरण गर्दै स्टलहरुलाई पुरस्कृत गरेको छ । स्टलमा राखिएका वस्तु, प्रस्तुती र सजावट तथा प्रस्तुतीको व्यवहारबाट स्टलहरुलाई पुरस्कृत गरिएको स्टल मूल्यांकन समितिका संयोजक तथा उद्योग वाणिज्य संघ चितवनका पूर्व अध्यक्ष डाक्टर तिलचन्द्र भट्टराईले बताए । समितिले कृषि तर्फ सुयल मौरी पालन तथा मह उत्पादन, त्रिशक्ति ट्रेडर्स, अटो मोबाइल्स तर्फ ओशन मोटर्स इन्टरनेशन प्रालि, मालाश्री मोटर्स प्रालि, उद्योग तर्फ स्याण्डविच होम सोलुसन प्रालि, मौलाकाली जाली उद्योग, थ्री सिस्टर अचार तथा तितौरा उद्योग, व्यापार तर्फ नोभा किचन एण्ड इन्टेरियर्स, डिआर साइकल स्टोर्स, जय मातादी किचन गुड्स पुरस्कृत भएका छन् ।
त्यसैगरी, सूचना, सञ्चार तथा शैक्षिक संघसंस्था तर्फ परफेक्ट पश्चिमाञ्चल मन्टेश्वरी ट्रेनिङ सेन्टर, इभरलाष्ट इन्फोटेक, जेनेरशन नेष्ट कम्युनिकेशन त्यस्तै, हस्तकला तर्फ चिनारी महिला साझेदारी समूह, हस्तकला नेपाल प्रालि, विद्युत तर्फ प्रभा विद्युत इम्पोरियम, राठी केबुल पुरस्कृत भएका छन् । रेष्टुरेन्ट तर्फ बाजेको सेकुवा र वेलकम थकाली भान्साघर एण्ड रेन्टुरेन्ट, नयाँ प्रविधि तर्फ एएसी लाइट ब्रिक प्रालि, त्यसैगरी अन्य सेवा तर्फ नेपाल पोलिटेक्निक इन्टिच्युट, एकीकृत दुग्ध विकास सहकारी, मनकामना अस्पताल प्रालि पुरस्कृत भएका छन् । त्यसैगरी, उत्कृष्ट दर्शक तथा अवलोकनकर्ता भएको भन्दै चितवन केरा उत्पादक संघ र चितवन च्याउ उत्पादक संघलाई विशेष प्रशंसापत्रद्वारा सम्मान गरिएको छ ।
त्यस्तै महोत्सव उद्घाटनका दिन भएको शोभायात्रा ¥यालीमा सामुदायिक यिद्यालय तर्फबाट सर्वोत्कृष्ट हुन सफल बालकुमारी कन्या मावि, उत्कृष्ट हुन सफल बालकुमारी उच्च मावि, उत्तम हुन सफल आदिकवी भानुभक्त मावि र सान्त्वना हुन सफल राष्ट्रिय प्रावि नदी किनार, निजी तथा आवासीय विद्यालय तर्फ उत्कृष्ट हुने चितवन इग्लिस स्कुल र उत्कृष्ट हुने सनफ्लावर इंग्लिस स्कुल र संघसंस्थाको तर्फबाट उत्कृष्ट हुन सफल चितवन केरा उत्पादक संघलाई समेत पुरस्कार प्रदान गरिएको थियो ।
पुरस्कार वितरण समारोह तथा ११ औँ चितवन महोत्सव समापन समारोह उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष एवम् महोत्सव मूल आयोजक समितिका संयोजक राजन गौतमको अध्यक्षतामा भएको थियो ।