दाङ, माघ ५-
सूचना तथा सञ्चारमन्त्री कुमार कार्कीले राष्ट्रिय समाचार समिति (रासस)ले विश्वसनीय र आधिकारिक समाचार सम्प्रेषण गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउनुभएको छ ।
रासस राप्ती अञ्चल कार्यालय, तुलसीपुर दाङ कार्यालयको नयाँ भवन निर्माणको शिलान्यास गर्नुहुँदै उहाँले सत्यतथ्य र विश्वसनीय समाचारका लागि राससको महत्व र औचित्य बढिरहेको बताउनुभयो । मन्त्री कार्कीले राससले बहुआयामिक काम गर्दै आएको र आगामी दिनमा पनि आत्मनिर्भर बन्ने कामलाई सँगसँगै लैजानुपर्नेमा जोड दिनुभयो ।
उहाँले भवन निर्माणका लागि पहिलो लगानी सरकारले गरे पनि त्यसपछि सुरक्षा र संरक्षण गर्नुपर्ने दायित्व रासस आफँैले गर्नुपर्ने बताउनुभयो । मन्त्री कार्कीले केन्द्रदेखि स्थानीयस्तरमा रहेका विभिन्न विषयका समाचार सम्प्रेषण सबै सञ्चारमाध्यमले गर्नुपर्ने उल्लेख गर्दै व्यावसायिक मर्यादामा ध्यान दिएर समाचार सम्प्रेषण गर्नुपर्नेमा जोड दिनुभयो ।
उहाँले सङ्घीयतामा मुलुक जाँदा गाउँपालिकालाई बढीभन्दा बढी अधिकारसम्पन्न हुने भएकाले आगामी दिनमा सञ्चारमाध्यमको दर्ता, नवीकरण र खारेजीजस्ता कार्य स्थानीय निकायबाट हुने बताउनुभयो ।
कार्यक्रममा मन्त्री कार्कीले जग्गा संरक्षण तथा भवन निर्माणका लागि योगदान पु¥याउनु हुने नागरिक समाज दाङका संयोजक टीकाराम रेग्मी, समाजसेवीहरु ऋषिराज कँडेल, वामदेव उपाध्याय, खुमानन्द अधिकारी र लामो समयसम्म रासस जिल्ला संवाददाताका रुपमा काम
गर्नुभएका पूर्वसंवाददाता रामप्रसाद पौडेललाई दोसल्ला ओढाएर कदरपत्रद्वारा सम्मान गर्नुभयो ।
सो अवसरमा सांसद अनिता देवकोटाले राससले समाचारका माध्यमबाट जनतालाई सुसूचित गराउने कार्यमा ठूलो भूमिका खेलेको बताउँदै आगामी दिनमा पनि भरपर्दो र विश्वसनीय समाचार सम्प्रेषण गर्नुपर्नेमा जोड दिनुभयो ।
राससका अध्यक्ष कुलचन्द्र वाग्लेले राससले मुलुकभरिबाट निरन्तर रुपमा सत्यतथ्य र विश्वसनीय समाचार सम्प्रेषण गरिरहेको उल्लेख गर्दै राससलाई आत्मनिर्भर बनाउने अभियानअन्तर्गत भवन निर्माण गर्न लागिएको बताउनुभयो ।
सो अवसरमा अध्यक्ष वाग्लेले सञ्चारमन्त्री कार्की र सूचना तथा सञ्चार मन्त्रालयका उपसचिव रुद्रादेवी शर्मालाई मायाको चिनोस्वरुप दाङका पर्यटकस्थल अंकित तस्बिर प्रदान गर्नुभएको थियो ।
पूर्वसभासद् कुवेर ओली, राससका सञ्चालक समितिका सदस्य गङ्गाधर पराजुली, राससका कार्यकारी व्यवस्थापक उत्तम सिलवाल, पत्रकार महासङ्घ दाङका अध्यक्ष सुदीप गौतम, उद्योग वाणिज्य सङ्घ तुलसीपुरका अध्यक्ष विमल रिजाल तथा नागरिक समाज दाङका अध्यक्ष टीकाराम रेग्मीले राससको महत्व र औचित्यबारे प्रकाश पार्नुभएको थियो ।
कार्यक्रममा रासस राप्ती अञ्चल कार्यालय प्रमुख नारायणी रजौरेले राससलाई आत्मनिर्भर बनाउन कार्यालय परिसरमा व्यावसायिक टहरा निर्माण गरिएको र सोबाट वार्षिक रु १७ लाख आम्दानी हुने गरेको जानकारी दिनुभयो । हाल राससको स्वामित्वमा यहाँ करिब १४ कट्ठा जग्गा रहेको छ ।- रासस