काठमाडौं,माघ ४ –
नेपाल प्रज्ञा–प्रतिष्ठानले यस वर्षदेखि अर्को वर्षको असार १४ गतेसम्म आफ्नो स्थापनाको हीरक उत्सव विविध कार्यक्रम आयोजना गरी मनाउने भएको छ ।
सो अवसरमा प्रतिष्ठानले आफ्नो इतिहास ग्रन्थ प्रकाशन, उत्कृष्ट १० स्रष्टालाई सम्मान, विद्युतीय पुस्तकालयको प्रारम्भ र बहुलतालाई सम्बोधन हुने गरी विशेष काव्य महोत्सव आयोजना गर्नेछ ।
प्रतिष्ठानको ३१औं प्राज्ञसभाका उपलक्ष्यमा आयोजित कार्यक्रममा प्रतिष्ठानले आफ्नो पहिचानलाई अन्तर्राष्ट्रिय जगत्मा उजागर गर्न दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठनमा आबद्ध देशमा रहेका प्रज्ञा–प्रतिष्ठानसित सम्बन्ध विस्तार गर्न सुरु गरेको जानकारी दिइएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनबहादुर शाहीले प्राज्ञसभाको उद्घाटन गर्दै सबै भाषा र संस्कृतिलाई संरक्षण तथा प्रवद्र्धन गर्न बहुसांस्कृतिक मन्त्रालय आवश्यक रहेको बताए ।
प्रतिष्ठानका पूर्वकुलपति वैरागी काइँलाले सबै भाषाभाषीलाई प्रज्ञा–प्रतिष्ठान मेरो पनि हो भन्ने भावना जगाउन आवश्यक रहेको र यसका लागि एक भाषाभाषीले अर्को भाषाभाषीलाई निषेध नगरी अगाडि बढ्नुपर्ने बताए ।
नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानका कुलपति सरुभक्तले पर्यटन विकास गर्न संस्कृतिको विकास गर्नुपर्ने र संस्कृति विकास गर्न भाषाभाषीका पहिचानलाई माथि उकास्नुपर्ने बताए ।
प्रज्ञासभाको उद्घाटन सत्रमा नेपाल प्रज्ञा– प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेती, उपकुलपति डा। विष्णुविभु घिमिरे तथा सदस्य सचिव जीवेन्द्रदेव गिरीले प्रतिष्ठानका गतिविधिबारे जानकारी दिए । – रासस