रामकुमार श्रेष्ठ,
नवलपरासी,माघ २-
नवलपरासीको कुडिया ८ मा रहेको बाग्मती सुगर मिलबाट निस्केको प्रदुषणले स्थानीय मर्कामा परेका छन् । मिलबाट निस्कने खरानी, धुवाँ, धुलो, प्रदुषित पानीलगायतले वातावरणलाई नै दुषित बनाएको स्थानीयले बताएका छन् ।मिलबाट निस्किएको प्रदुषणले खानेपानीसमेत दुषित बनाएको तर मिलले यसप्रति कुनै चासो नदिएको स्थानीय कोलिराम यादवले बताए ।
चिनी मिलबाट निस्केको दुषित पानीलाई फिल्टर नगरिकन मिलले सोझै दुई किलोमिटर पर रहेको शिर खोलामा मिसाएको छ । बेलाटारी र कुडियाको सखुना खोला भन्ने स्थानको शिर खोलामा लगेर दुषित पानी मिसाइएको उखु उत्पादक कृषक समिति नवलपरासीका अध्यक्ष उमेश यादवले बताए ।
केमिकलयुक्त दुषित पानी पिउनाले जनावरको ज्यान समेत जान सक्छ भने त्यो पानी परेको जमिन उब्जाउ रहँदैन । जसले गर्दा यसलाई फिल्टर गरेर मात्र फाल्नुपर्ने अध्यक्ष यादव बताउँछन् ।
मिलमा क्रसिङको समय खरानी धेरै उड्दा बाहिर लुगा सुकाउन समेत समस्या हुने गरेको कुडिया ४ रेताका रामचन्द्र पोख्रेलले बताए । चिनी मिलमा अहिले क्रसिङको समय हो । मिलबाट निस्कने कालो विषाक्त खरानीले खेतबारीमा तरकारी लगाउन समेत नपाएको स्थानीयले गुनासो गरेका छन् ।
यहाँका स्थानीयले मिल सञ्चालक र मिलको प्रशासनसँग पटक-पटक आग्रह गर्दा पनि मिल प्रशासनले प्रदुषण नियन्त्रणका लागि चासो दिएको छैन ।वागमती सुगर मिलले आम्दानीको केही प्रतिशत रकम प्रदुषण नियन्त्रण र विकास निर्माणमा खर्च गर्नुपर्ने प्रावधान रहेपनि त्यसो नगरेको स्थानीयहरुको भनाइ छ ।
प्रदुषण नियन्त्रण गर्नकालागि पटक-पटक मिलमा डेलिगेशन समेत गएको र डेलिगेशन जाँदा समस्याको समाधान गर्छु भन्ने गरेपनि उद्योगले चासो नदिएको भिमप्रसाद कोईरीले बताए ।अध्यक्ष यादवले भने, ‘मिल प्रशासनसँग प्रदुषण नियन्त्रणका लागि पटक-पटक सहमति भएपनि कार्यान्वयन भएको छैन ।’
पोख्रेलका अनुसार प्रदुषित तथा दुर्गन्धित पानी, कालो खरानी र धुलोले मानिस तथा जीबजन्तुको स्वास्थ्यमा गम्भीर असर परेको छ । यसले लामखुट्टे समेत बढेको पोख्रेलले बताए । कारखानाबाट निस्केको कालो खरानी ७/८ किलो मिटर परगाउँसम्म पुग्ने गरेको छ ।
त्यस्तै नवलपरासी जिल्ला खुल्ला दिसामुक्त घोषणा भइसके पनि मिलमा कार्यरत मजदुरहरूले जथाभाबि दिसा पिसाब गर्नाले विभिन्न स्वास्थ्य समस्या निम्तिने गरेको स्थानीय बताउँछन् ।
फाइल तस्विर