नवलपरासी,पुस २९-
नवलपरासीको मध्यबिन्दु नगरपालिकाको बिहीबार भएको दोस्रो नगरपरिषद्ले आगामी आर्थिक वर्षको लागि १५ करोड ८३ लाख बराबरको बजेट सार्वजनिक गरेको छ ।चोरमारामा भएको दोस्रो नगरपरिषद्मा बजेट सार्वजनिकीकरण गर्दै मध्यबिन्दु नगरपालिकाका कार्यकारी अधिकृत रामप्रसाद शर्माले आगामी आर्थिक वर्षको लागि १५ करोड ८३ लाख ५१ हजारको बजेट सार्वजनिकीकरण गरेका हुन् ।
नगरपरिषद्ले नगरपालिकाको आर्थिक, सामाजिक एवम् पूर्वाधार विकासको सम्भावनालाई उजागर गर्ने, नीतिगत, संस्थागत र भौतिक पूर्वाधार स्थापना गर्ने प्रमुख उद्देश्य लिएको छ ।त्यसैगर सुशासन प्रवद्र्धनका गरी विकास योजना एवम् कार्यक्रमहरुलाई नतिजामूलक र उत्पादनमूलक बनाउने, सामाजिक आर्थिकरुपमा पछाडि परेका वर्गहरुलाई स्वरोजगार सृजना गरी आत्मनिर्भरतर्फ उन्मुख गराउने प्रमुख उद्देश्य रहेको कार्यकारी अधिकृत रामप्रसाद शर्माले बताए ।
नगरपरिषद्को नवलपरासी क्षेत्र नं. ३ का सांसद कृष्ण पौडेलले उद्घाटन गरेका थिए । परिषद्को उद्घाटनमा बोल्दै पौडेलले राजनीतिक रुपमा स्थिरता नआउँदासम्म विकासले फड्को मार्न नसक्ने बताए ।नगरपालिकाको राजस्व संकलन तथा आन्तरिक आम्दानी वृद्धिका लागि एकीकृत सम्पत्ति कर लागू गर्ने, राजस्वको दर, दायरा र सम्भावना पहिचान गर्न सम्भाव्यता अध्ययन गर्ने, व्यवसाय करका लागि यस वर्षदेखि व्यवसाय दर्ता प्रक्रिया अगाडि बढाउने नीति अघि सारेको छ ।
त्यसैगरी नवलपरासी जिल्लाको रुपौलिया गाविसको २१ औ गाउँ परिषद्ले आव ०७४÷०७५ को लागि दुई करोड १४ लाख २६ हजार बराबरको बजेट सार्वजनिकीकरण गरेको छ । गाविस सचिव शिवप्रसाद सुवेदीले नगरपालिकाको बजेट सार्वजनिक गरेका हुन् । गाविसले सडक, स्वास्थ्य, शिक्षा, खानेपानी, सिँचाइ, महिला, बालबालिका, अपाङ्ग, युवा तथा खेलकुद विकास र कृषिलगायतका क्षेत्रमा बजेट विनियोजन गरेको छ ।