काठमाडौँ, पुस १३–
तराई–मधेस लोकतान्त्रिक पार्टी (तमलोपा) का अध्यक्ष महन्थ ठाकुरले संविधान संशोधनको प्रस्तावलाई ओझेलमा पार्ने नियतले स्थानीय तहको निर्वाचनको एजेन्डा ल्याइएको बताउनुभएको छ ।
पार्टीको नवौँ स्थापना दिवसका अवसरमा आज बिजुलीबजारस्थित पार्टी कार्यालयमा आयोजित कार्यक्रममा उहाँले प्रमुख तीन दलले निर्वाचनको नाटक गरेर संशोधन प्रस्तावलाई ओझेलमा पार्ने प्रयास गरेको आरोप लगाउनुभयो ।
अध्यक्ष ठाकुरले सरकारको नेतृत्वकर्ता दल नेकपा (माओवादी केन्द्र) ले सत्ताका लागि आफूहरुलाई उपयोग गरेको र अहिले सरकार बनेपछि उपेक्षा गरेको टिप्पणी गर्नुभयो ।
यसैबीच, तमलोपाले आफ्नो वार्षिकोत्सवलाई विगतमा जस्तै सङ्कल्प दिवसका रुपमा मनाएर मधेसी जनता एवम् अन्य उत्पीडित वर्गको अधिकार प्राप्तिका लागि जारी सङ्घर्षलाई एकताबद्ध ढङ्गले अघि बढाउने बताएको छ ।
सङ्कल्प प्रस्ताव प्रस्तुत गर्दै पार्टीका वरिष्ठ उपाध्यक्ष हृदयेश त्रिपाठीले मधेसी, आदिवासी र उत्पीडित समुदायको मुक्ति नभएसम्म सङ्घर्ष जारी रहने दृढता व्यक्त गर्नुभयो ।