चितवन,पुस १३-
राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष माधव ढुंगेलले लामो समयदेखि स्थानीय तहमा निर्वाचन हुन नसक्दा युवाहरु नेतृत्वमा जान नपाएको बताएका छन् । मदन भण्डारी स्पोर्ट एकेडेमी चितवनको आज (बुधबार) भरतपुरमा भएको भेलालाई सम्बोधन गर्दै ढुंगेलले एउटै नेता पटकपटक नेतृत्वमा बसिरहँदा नयाँ नेतृत्व विकास हुन र युवाहरु नेतृत्वमा पुग्न नसकेको बताए ।
नेकपा एमालेका वैकल्पिक केन्द्रीय सदस्य समेत रहेका ढुंगेलले नेपालका एक करोड सात लाखभन्दा बढी युवाहरुको संस्था राष्ट्रिय युवा परिषद् गठन भएको बताउँदै युवाहरुलाई देश समृद्धिको बाटोमा जोड्नु पर्ने बताए । उनले भने “प्रत्येक वर्ष पाँच लाख ३८ हजार युवा विदेशीन बाध्य भएका छन्, तिनीहरुलाई यही रोजगारीको सिर्जना गर्नेतर्फ परिषद् लाग्दछ ।” यो पहिलो परिषद् भएकोले यसको सम्पूर्ण संरचना निर्माण गर्नमै केही समय लागेको बताउँदै उपाध्यक्ष ढुंगेलले कृषि, उर्जा, खनिज, खेलकुद र मनोरञ्जनलाई विकास र व्यवसायीकरण गरी युवालाई उद्यमशीलता र रोजगार सिर्जना गर्नेतर्फ परिषद् लाग्ने बताए ।
वर्षमा ४० हजार नेपालीले आत्महत्या गर्ने गरेको तथ्यांक प्रस्तुत गर्दै ढुंगेलले ४० हजार मध्ये अधिकांश युवती हुने गरेको जानकारी दिए । उनले युवाहरुको क्षमता र सीप अनुसारको रोजगारी र मनोरञ्जन दिन सके यस्ता आत्महत्यालाई न्यूनिकरण गर्न सकिने बताए । युवाहरुको नेतृत्व विकास गर्नुपर्नेमा जोड दिंदै उपाध्यक्ष ढुंगेलले भने “राजनीतिक, सामाजिक क्षेत्र, रोजगारी, उद्यमशीलता जहाँ रहेर काम गरे पनि नेतृत्व गर्ने क्षमता आवश्यक पर्दछ ।”
सोही कार्यक्रमलाई सम्बोधन गर्दै मदन भण्डारी स्पोर्ट एकेडेमीका केन्द्रीय सदस्य रामप्रसाद न्यौपानेले खेलकुद र राजनीतिलाई सँगसँगै लैजान एकेडेमी सफल हुने बताए । हरेक आन्दोलनको नेतृत्व युवाहरुले गर्ने गरेको बताउँदै न्यौपानेले सरकारले ल्याएको राष्ट्रघाती संशोधन प्रस्ताव विरुद्ध युवाहरुले गरेको आन्दोलन सफल हुँदै गएको बताए । उनले भने “युवाहरुको यो आन्दोलन प्रशंसनीय छ ।”
मदन भण्डारी स्टोर्स एकेडेमीका अध्यक्ष ऋषि रेग्मीको अध्यक्षतामा सम्पन्न भेलाले सोमबहादुर कँडेलको नेतृत्वमा ३३ सदस्यीय आयोजक समिति पनि गठन गरेको छ । समितिका उपसंयोजकमा अनोज जोशी, सचिवमा ऋषि रेग्मी र कोषाध्यक्षमा सुशिल केसी रहेका छन् । समितिका सदस्यहरु पछि थप गर्दै लैजाने सो अवसरमा जानकारी दिईयो ।