चितवन, पुस १३–
बाघको आक्रमणबाट चितवनको माडी–४ खैरहनीमा एक महिला घाइते भएकी छन् ।
बुधबार विहान ९ बजे घाँस काट्न नजिकैको करेसाबारीमा जाने क्रममा बाघले आक्रमण गरेको हो । ५० वर्षीय सरस्वती तिवारी घाइते भएकी छन् ।
देब्रे कुम र हातमा गहिरो चोट लागेको उनका देवर इन्द्रप्रसाद तिवारीले जानकारी दिए । उनको हाल भरतपुर अस्पतालमा उपचार भैरहेको छ । हुस्सु लागेको अवस्थामा घाँस काट्न जाने क्रममा एक्कासी बाघले आक्रमण गर्न थालेपछि उनका श्रीमान् हेमराज सोही ठाउँमा पुगेर हल्ला गरेपछि बाघ भागेको थियो । निकुञ्ज आसपासका बस्तीहरुमा वर्षेनी जंगली जनावरको आक्रमण हुने गरेका छन् ।
माडी भरतपुर सम्पर्क मञ्च चितवनका अध्यक्ष जीतेन्द्रबहादुर भण्डारीले सम्पूर्ण उपचारमा निकुञ्जले सहयोग गर्नुपर्ने बताए । जंगली जनावरलाई मानव वस्तीमा आउन नदिन व्यवस्थित तारबार गर्नुपर्ने माग गरे ।