चिसोका कारण एक साताका लागि पर्साका विद्यालय बन्द

चिसोका कारण एक साताका लागि पर्साका विद्यालय बन्द

 पर्सा,मंसिर,२५

 बढ्दो चिसोका कारण जनजीवन प्रभावित भएपछि पर्सामा रहेका सबै विद्यालय आजदेखि बन्द भएका छन् ।

पर्साका प्रमुख जिल्ला अधिकारी केशवराज घिमिरेको अध्यक्षतामा शुक्रबार बसेको दैवी प्रकोप व्यवस्थापन समिति पर्साको बैठकले एक साताका लागि जिल्लाका सबै विद्यालय बन्द गर्न निर्णय गरेको हो ।

लगातार छ दिनदेखिको शीतलहर र त्यसबाट बढ्दै गएको चिसोबाट बालबालिका बिरामी हुन थालेपछि एक साताका लागि जिल्लाका सबै विद्यालय बन्द गर्ने निर्णय गरिएको प्रजिअ घिमिरेले जानकारी दिए ।

बढ्दै गएको चिसोका कारण सर्वसाधारणको दैनिकी समेत प्रभावित भएकाले सर्वसाधारणलाई राहत दिन उपमहानगरपालिका, नगरपालिका तथा गाविसमा आगो ताप्न काठको प्रबन्ध मिलाउन सम्बन्धित कार्यालयलाई निर्देशन गरिएको प्रजिअ घिमिरेले बताए ।

बैठकले जिल्लामा रहेको अस्पताल तथा स्वास्थ्यचौकीलाई बढ्दो शीतलहरबाट प्रभावित भई बिरामी हुने जिल्लावासीको औषधि उपचारका लागि जिल्ला जनस्वास्थ्य कार्यालयलाई समेत निर्देशन गरिएको छ ।

लगातार छ दिनदेखि लागेको कुहिरो र लगातार चल्ने बतासका कारण तापक्रम झदै गएपछि बारा पर्साको जनजीवननै प्रभावित भएको छ । बढ्दो चिसोका कारण कोल्ड डाइरिया, ज्वरो, रुघाखोकी र स्वासप्रस्वासका बिरामीको सङ्ख्या बढेको छ । वीरगन्जको नारायणी उपक्षेत्रीय अस्पतालमा खासगरी जिल्लाको ग्रामीण भेगबाट बालबालिका तथा वृद्धवृद्धा बढी बिरामी भई अस्पताल भर्ना भएको चिकित्सकले जनाएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ