ज्ञानु पंगेनी,
नवलपरासी, पुस १२–
पत्रकारहरुलाई सहयोग गर्ने उदेश्यले नवलपरासीमा प्रेमयोग संचारकर्मी सहयोग कोष स्थापना भएको छ ।
नवलपरासीको कावासोती–१, हातिखोर पोखरीतालमा आयोजना भएको प्रेमयोग संचारकर्मी सहयोग कोष घोषणा एवम् मित्र मिलन कार्यक्रममा कोषको घोषणा गरिएको हो ।
कोषका लागि समाजसेवी योगप्रसाद शर्मा रिजाल र प्रेम कुमारी शर्माले संयुक्त रुपमा वार्षिक रुपमा २० हजार रुपैयाँ बराबरको कोषको घोषणा गर्नुभएको हो ।
कार्यक्रममा बोल्दै समाजसेवी शर्माले आफुले जान्ने बुझने भएदेखि नै पत्रकारहरुको कामले प्रभावित भएको र कतिपय समयममा पत्रकारहरुले न्यून पारिश्रमिकमा जोखिम उठाएर काम गरिरहनुपरेको भन्ने कुराहरु बाहिर आउँदा आफुले पत्रकारलाई भईपरि आउने दुर्घटना तथा औषधी उपचारमा सहयोग पुर्याउने उदेश्यले कोषको स्थापना गरेको बताउनुभयो ।
कार्यक्रममा बोल्दै संचारकर्मी तथा पत्रकार संघ नवलपरासीका अध्यक्ष खगराज सापकोटाले विषेशगरि श्रमजिवी पत्रकारहरुलाई विभिन्न पुरस्कारहरुका लागि कोष स्थापना भएको भएपनि कहि कतै दुर्घटनामा पर्दा दुःख विरामी पर्दाखेरी सहयोग जुटाउन गाह्रो हुने हुँदा आफुले कोषकालागि पहल गरेको र शर्माले पनि त्यसलाई सहजै रुपमा लिएर सहयोग गर्नुभएकोमा धन्यावाद दिनुभयो ।
कोषमा आउँदा दिनमा अरु रकम पनि थप गरिने र श्रमजिवी पत्रकारहरुलाई दुःख विरामी पर्दा थोरै भएपनि सहयोग गरिने लक्ष्य कोषबाट लिएको बताउनुभयो ।
कार्यक्रममा महाराजा धार्मिक बन उपभोक्ता समितीका अध्यक्ष शिव भट्टराई, प्रेस युनियन जिल्ला अध्यक्ष श्रीराम सिग्दले, क्रान्तीकारी पत्रकार महासंघ केन्द्रिय सदस्य रामकुमार श्रेष्ठ, प्रेस सेन्टर नवलपुरका सचिव अर्जुन लुईटेल, क्रान्तिकारी पत्रकार संगठन जिल्ला अध्यक्ष शिव डुम्रेलगायतको सहभागिता रहेको थियो ।