चितवन, पुस १२–
शैक्षिक परामर्श व्यवसायी संघ (इक्यान) चितवनको आयोजनामा भोली पुस १३ देखी १५ गतेसम्म भरतपुरमा हुने ‘इक्यान शैक्षिक मेला–२०७३’ को सम्पूर्ण तयारी पुरा भएको छ ।
मेला स्थल वीरेन्द्र बहुमुखी क्याम्पस प्राङगणमा मेलाको सम्पूर्ण स्टलहरु निर्माण भई सकेको मेलाका संयोजक भानुभक्त खरेलले जानकारी दिनुभयो । मेलामा स्वदेशी तथा विदेशी शैक्षिक संस्थाहरुगरि ९६ वटा स्टल र ८ वटा पेभेलियन रहने संयोजक खरेलले जानकारी दिनुभयो ।
‘इच्छा अनुसारको शिक्षा, हामी सबैको अपेक्षा, चाहे स्वदेशमा होस् या विदेशमा’ भन्ने मुल नाराका साथ हुन लागेको मेलाको भोली विहान ११ बजे पूर्व शिक्षा मन्त्री गंगालाल तुलाधारले समुद्घाटन गर्ने कार्यक्रम रहेको इक्यान चितवनका अध्यक्ष जीवन रिजालले जानकारी दिनुभयो । उद्घाटन समारोहमा शिक्षा मन्त्रालयका सचिव शान्तबहादुर श्रेष्ठलगायत विशिष्ट व्यक्तिहरुको समेत उपस्थिति रहने बताइएको छ ।
मेलामा विदेशी तथा स्वदेशी शैक्षिक संस्थाहरुबीच सेमीनार चल्ने छ । यस्तै विद्यार्थी तथा अभिभावकहरुले स्वदेशी तथा विदेशी कलेज तथा विश्वविद्यालयहरुको प्रतिनिधिहरुसंग प्रत्यक्ष परामर्श लिन सक्ने छन् ।
मेला प्रवेशका लागि निःशुल्क व्यवस्था गरिएको छ । मेलाको सम्पूर्ण व्यवस्थापनको जिम्मा वन अप इभेन्टस एण्ड म्यानेजमेण्ट सोलुसन काठमाडौंले लिएको छ । मेला संचालन गर्न करिव २७ लाख रुपैयाँ खर्च लाग्ने आयोजकले अनुमान गरेको छ भने २० हजार भन्दा बढि विद्यार्थीहरुले अवलोकन गर्ने अपेक्षा गरिएको छ ।