काठमाडौँ,पुस १२ –
नेपाः पार्टीका नेता तथा पूर्वसभासद् बुद्ध सायमीको शव श्रद्धाञ्जलिका लागि आज स्थानीय भूगोलपार्कमा राखिएको छ ।
उहाँमा कलेजो, मिर्गौला र मधुमेहको समस्या भएपछि जावलाखेलस्थित अल्का अस्पतालमा उपचारका क्रममा गए राति ७२ वर्षका उमेरमा निधन भएको थियो ।
नेपाल भाषामा विद्रोही धारका कविसमेत रहनुभएका सायमीलाई श्रद्धाञ्जलि दिन उद्योगमन्त्री नवीन्द्रराज जोशी, नेपाली काँग्रेसका नेता तीर्थराम डङ्गोल र भीमसेनदास प्रधान, सङ्घीय समाजवादी फोरम नेपालका सहअध्यक्ष राजेन्द्र श्रेष्ठ, नेपाः पार्टीका कावा अध्यक्ष सुवर्णकेशरी चित्रकार, साहित्यकार दुर्गालाल श्रेष्ठ, नवीन चित्रकारलगायतको सहभागिता थियो ।
उहाँको शव दिउँसोसम्म राखिने र आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने पार्टीका महासचिव डा विजय सैँजुले जानकारी दिनुभयो ।
विसं २०६४ को संविधानसभामा उहाँ नेपाःपार्टीका तर्फबाट समानुपातिक सभासद् हुनुहुन्थ्यो । नेवाः देय् गु संस्थाको अध्यक्षसमेत रहनुभएका सायमीले विस २०२० मा नेपाल भाषामा कविता लेख्न सुरु गर्नुभएको बताइएको छ । उहाँका श्रीमती तथा एक एक छोरा र छोरी हुनुहुन्छ । – रासस