काठमाडौं पुस १२-
राजनीतिक गतिरोधको अन्त्य र अबरुद्ध संसदको बैठक सुचारु गर्न छाडेर औपचारिक कार्यक्रम उद्घाटन गर्न गएको भन्दै आलोचना भएपछि प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आजैदेखि औपचारिक कार्यक्रममा नजाने घोषणा प्रतिबद्धता जनाएका छन् ।
सहमतिको पहल गर्न छाडेर औपचारिक कार्यक्रम उद्घाटन गर्न हिडेको भन्दै प्रचण्डको आलोचना भएको थियो । बैठकमा प्रधानमन्त्री प्रचण्डले संसदको गतिरोध अन्त्यका लागि बैठकमा आग्रह गरेका थिए । नेम्वाङले दोस्रो तहका नेताहरु मार्फत निकाश खोज्न सकिने भन्दै त्यसको पहल गर्नपनि प्रधानमन्त्री प्रचण्डलाई आग्रह गरेका थिए ।
बैठकमा संसद अबरुद्धगर्दै आएको प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संविधान संशोधन विधेयक फिर्ता गरेर निर्वाचन कानून पारित गर्ने सर्तमा संसद अबरोध हटाउने बताएको थियो । ‘छलफललाई निरन्तरता दिदै सहमति खोज्ने सहमति भयो’ बैठकपछि एमाले नेता नेम्वाङले भने ।
बैठकमा प्रधानमन्त्री प्रचण्ड, सभामुख घर्ती, काग्रेस सभापति शेरबहादुर देउवा, राप्रपा अध्यक्ष कमल थापा लगायत नेताहरु सहभागि थिए । एमाले अध्यक्ष केपी ओली भने बैठकमा सहभागि भएनन् ।
नेताहरुबीच त्रिपक्षीय छलफल
राजनीतिक गतिरोधको निकाशको बिषयमा सोमवार नै दलका मध्यम तहका नेताहरुबीच छलफल भएको छ । संसद भवनमा एमाले नेता नेम्वाङसँग माओवादी केन्द्रका प्रभावशाली नेता नारायणकाजी श्रेष्ठ तथा काग्रेसका प्रभावशाली नेता कृष्ण सिटालाले छुट्टा छुट्टै छलफल गरेका छन् । गतिरोध अन्त्य र संविधान कार्यान्वयनका बिषयमा नेताहरुबीच छलफल भएको हो ।
संसद अबरुद्ध जारी रहने
दलहरुबीच सहमति जुटन नसकेपछि विपक्षी दलले मंगलवार पनि संसद बैठक अबरुद्ध गर्ने भएका छन् । सरकारले प्रदेश नम्बर पाँचबाट पहाडी जिल्ला अलग्याउने गरी संसदमा संविधान संशोधन विधेयक दर्ता गरेको विरोधमा नेकपा एमाले लगायतका विपक्षी दलले मंगलवार पनि संसद बैठक अबरुद्ध गर्ने भएका छन् ।
यसअघि दलहरुबीच सहमतिको प्रयासका लागि भन्दै संसदको बैठक पटक पटक सूचना प्रकाशित गरेर स्थगित गर्दै आएको थियो ।