काठमाडौं,पुस ९-
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्कीले मुलुकका दश भ्रष्टाचारी सार्वजनिक गरेका छन् ।
कार्कीविरुद्ध परेको मुद्दाको पेशीका लागि विहीबार सर्वोच्च अदालत पुगेका कार्कीलाई नेत्रविक्रम चन्द विप्लव नेतृत्वको माओवादी निकट दुई क्रान्तिकारी विद्यार्थीले अदालत परिसरमै कालोमोसो दलिदिएका थिए ।
आफूलाई कालोमोसो दलिएपछि विहीबार नै कार्कीले अख्तियार प्रमुखकै हैसियतमा अपिल जारी गर्दै विभिन्न क्षेत्रका १० भ्रष्टाचारी सार्वजनिक गरेका छन् ।
भ्रष्टाचार सून्य कुनै संस्था छैन
अख्तियारका निलम्बित प्रमुख कार्कीले आफू पदमा आसिन हुँदा भ्रष्टाचारको जालो सवर्त्र रहेको र भ्रष्टाचार सून्य नरहेको जनाएका छन् ।
एनजीओ/आईएनजीओ, सहकारी संस्थाहरु, ट्रेड युनियन, सञ्चार गृहमा भ्रष्टाचार रहेको कार्कीले ठहर्याएका छन् ।
यी हुन् १० भ्रष्टाचारी
१) राज्यको बजेट बराबरको समानान्तर बजेट अपारदर्शी र मनोमानी ढङ्गबाट परिचालन गर्ने एनजीओ/आईएनजीओहरु ।
२) सरकारी, अर्धसरकारी निकायहरुमा आफ्नो बाहुल्य र दवाब सिर्जना गरी आफू अनुकुल निर्णय गराउन बाध्य पार्ने ट्रेड युनियनका नाममा सक्रिय कतिपय व्यक्तिहरु ।
३) राज्यलाई ठगी गरी विलासी जीवन बिताउने व्यक्तिहरु ।
४) सिण्डिकेट र कार्टेलिङ्ग गर्ने व्यवसायी र सस्तो लोकप्रियताका निम्ति पत्रकारिताको आधारभूत मुल्य मान्यता बिपरित जस्तो सुकै सामाग्री समाचारका रुपमा प्रकाशित गरी राष्ट्रलाई नै दिग्भ्रमित गर्न खोज्ने केही संचार गृहहरु ।
५) सञ्चार व्यवसायीको आवरणमा रही विभिन्न भ्रष्टाचारजन्य क्रियाकलापमा संलग्न केही सञ्चारगृहका मालिकहरु ।
६) जनताबाट ठूलो भ्याट बापतको धनराशी उठाई राज्यमा दाखिला नगर्ने राष्ट्रिय स्तरका भनिने व्यापारीहरु ।
७) सांसद बनाउनका लागि बिभिन्न व्यक्तिहरुबाट करोडौँ रुपैयाँ उठाई सांसद नियुक्त गर्ने गराउने व्यक्तिहरु ।
८) राष्ट्रिय स्वार्थ भन्दा एनजीओ र आइएनजीओबाट ठूलो धनराशी लिई तिनीहरुकै स्वार्थका लागि अनेकौं गैरकानूनी माग राखी रहस्यमयी तवरबाट भोक हड्ताल, अनसन गर्ने व्यक्तिहरु ।
९) मन्त्रालयलाई प्राप्त अधिकारलाई समेत प्रयोग नगरी मन्त्रीपरिषदमा लगेर गराइने नीतिगत बाहेकको अन्य निर्णयमा संलग्न मन्त्रीहरु ।
१०) अकुत सम्पत्ति सम्बन्धी सम्पूर्ण छानबिन प्रक्रिया गरी मुद्दा दायर हुनै लागेका राष्ट्रियस्तरका केही नेताहरु ।