सन्तोष यादब
सिरहा, पुस ८ –
नेकपा एमालेका बरिष्ट नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले संविधान संशोधनको प्रस्ताव फिर्ता नलिए देशव्यापी कडा आन्दोलन गर्ने चेतावनी दिनुभएको छ ।
सिरहाको लहानमा एमाले प्रदेश नम्बर २ को प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रमको उद्घाटन सत्रलाई सम्बोधन गर्दै नेता खनालले आन्दोलनका लागि तयार रह्न कार्यकर्तालाई समेत निर्देशन दिनुभयो । उहाँले भन्नुभयो, ‘संशोधन प्रस्ताव फिर्ता लिनुको विकल्प छैन् । फिर्ता नलिए हामी जस्तोसुकै मुल्य चुकाउन तयार छौं ।’
नेता खनालले २०७४ माघ ७ गतेभित्र ३ तहको चुनाव गराउनुपर्ने बाध्यता रहेको बताउदै चुनावका लागि राष्ट्रिय सहमती बनाउनुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, ‘संविधान संशोधन छाडेर चुनाव गराउनका निम्ति राष्ट्रिय सहमती बनाउनका लागि खुल्ला आह्वान गर्दछु ।’
उहाले मधेसी मोर्चाको हिन्दी भाषालाई राष्ट्रिय भाषा बनाउनुपर्ने माग पुरा गर्न नसकिने बताउनुभयो । ‘आज हिन्दीलाई राष्ट्रिय भाषा बनाए भने भोली चाइनिज भाषालाई पनि राष्ट्रिय भाषा बनाउने कुरा उठ्छ । त्यसपछि के गर्ने ?’, नेता खनालले भन्नुभयो, ‘त्यसैले हिन्दी भाषालाई राष्ट्रिय भाषा कुनै पनि हालतमा मान्न सकिदैन् । मधेसी मोर्चाको कुनै माग जायज छैन् ।’
यस्तै नेकपा एमालेका बरिष्ट नेता माधव कुमार नेपालले संसदमा दर्ता गरिएको संशोधनको प्रस्तावमा कुनै पनि हालतमा सहमती नजनाउने अडान दोहर्याउनुभएको छ ।
नेता नेपालले अहिले संविधान संशोधन गर्ने समय नभएर संविधान लागु गर्ने समय भएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘संशोधनको बहानामा संविधान सफल बनाउने षड्यन्त्र हुंदैछ ।’
एमाले मधेस विरोधी रहेको नरहेको बताउदै नेता नेपालले मधेसी मोर्चा र केहि अन्य दलका नेताहरु एमालेलाई बदनाम गराउन खोजिरहेको गुनासो गरे । उनले आफ्ना कार्यकर्तालाई भने, ‘तपाईहरु अरुको भ्रममा नपर्नुस् । पार्टीमाथि विश्वास राख्नुस् । एमालेले मात्र देश र जनताको हितमा काम गरिरहेको छ ।’
प्रदेश नम्बर २ का एमालेका आठ जिल्लाका नेता तथा कार्यकर्ता सहभागी उक्त प्रशिक्षण भोलीसम्म चल्नेछ । प्रशिक्षणमा सहभागी नेता तथा कार्यकर्ताका लागि खाना र बस्ने व्यवस्था पनि मिलाइएको एमाले यूवा नेता कमलदेव यादबले जानकारी दिनुभयो ।
यसैविच, एमालेको उक्त प्रशिक्षण कार्यक्रम विथोल्न मधेसी मोर्चाले विहानैदेखि प्रयास गरेका थिए । तर सुरक्षाकर्मीको बाक्लो उपस्थितिका कारण मोर्चाले कार्यक्रम विथोल्न सकेन् । आज विहान एमालेले लहान बजारको सडकको विभिन्न ठाउँमा झुण्डयाएको पार्टीको झण्डा मोर्चाका कार्यकर्ताहरुले हटाएर आगो लगाई जलाएका थिए ।