कञ्चनपुर, पुस ७–
स्थापना भएको साढे चार दशकपछि कञ्चनपुरमा रहेको शुक्लाफाँटा वन्यजन्तु आरक्षलाई स्तरोन्नति गरी आजदेखि राष्ट्रिय निकुञ्जमा रुपान्तरण गरिएको छ ।
विसं २०२६ मा शाही सिकार आरक्षका रुपमा स्थापित शुक्लाफाँटालाई २०३१ सालमा वन्यजन्तु आरक्षका रुपमा रुपान्तरण गरिएको थियो । मन्त्रिपरिषद् बैठकको आजको निर्णयले शुक्लाफाँटाको स्तरोन्नति गर्ने निर्णय गरेको हो । शुक्लाफाँटा वन्यजन्तु आरक्षका प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकालले आरक्षको स्तरोन्नतिमा वन तथा भूसंरक्षण मन्त्रालयसँगै यहाँका स्थानीय राजनीतिक दल, स्थानीय प्रशासन, आरक्ष कार्यालयलगायत सबैको भूमिका रहेको बताउनुभयो ।
उहाँले निकुञ्ज भएसँगै अन्तर्राष्ट्रियस्तरमा पनि यसको गरिमा बढ्नाका साथै बाह्य पर्यटक आवागमन बढी हुने बताउनुभयो । “अब पर्यटन भित्र्याउन बढावा मिल्छ”, ढकालले भन्नुभयो, “पर्यटकीय पूर्वाधार निर्माण गर्न पनि सघाउ पुग्छ ।”
विश्वमा दुर्लभ बाह्रसिङ्गालाई दुई हजारभन्दा बढीको झुन्डमा देख्न पाइन्छ । थोरै क्षेत्रफलमा धेरै वन्यजन्तु रहेको शुक्लाफाँटा जैविक विविधताका दृष्टिकोणले महत्वपूर्ण मानिन्छ । सबैभन्दा बढी बाघको जनघनत्व रहेको संरक्षित क्षेत्रका रुपमा चिनिने शुक्लाफाँटा ३०५ वकिमीमा फैलिएको छ । सङ्कटापन्न वन्यजन्तु तथा प्रजातिको संरक्षणमा उच्च प्राथमिकता दिइँदै आएको आरक्ष पर्यटकीय दृष्टिले आगामी दिनमा थप परिचित हुनेमा यहाँका पर्यटन व्यवसायीको बुझाइ छ ।
नेपालका संरक्षित क्षेत्रमध्ये सबैभन्दा बढी खयरमजुर रहेको शुक्लाफाँटाभित्र तराईका संरक्षित क्षेत्रमध्ये सबैभन्दा ठूलो घाँसे मैदानसमेत रहेको आरक्ष कार्यालयले जनाएको छ जिल्लाकै गहनाका रुपमा रहेको शुक्लाफाँटा वन्यजन्तु आरक्षको दिगो व्यवस्थापन गर्न यसको आम्दानी वृद्धि गर्नुपर्ने तथा स्थानीय समुदायलाई बढीभन्दा बढी पर्यटकीय गतिविधिमा संलग्न गराउन आवाज उठिरहेको थियो । गत वर्ष कञ्चनपुरको नवौँ जिल्ला परिषद्बाट आरक्षलाई निकुञ्जमा परिवर्तन गर्न सम्बन्धित निकायमा अनुरोध गर्ने निर्णयसमेत भएको थियो । –रासस