काठमाडौं,पुस ७-
कात्तिक २८ गते नेपाल बन्द गर्दै नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको माओवादीले राखेका माग मध्ये एउटा प्रमुख माग थियो – पेट्रोलियम पदार्थको मूल्य घटाउनु पर्ने।
केही सवारी साधन जले, केहीका शिशा फुटे, बन्दको प्रभाव रह्यो। तर जे माग राखेर बन्द भएको थियो, त्यो पूरा भएन। बरु उल्टो तीन दिनअघि नेपाल आयल निगमले पेट्रोल र डिजेल अनि मट्टितेलको भाउ प्रति लिटर साढे ४ रुपैयाँ महँगो बनाइदियो।
त्यसको विरोधमा हतार हतार पार्टीले अर्को बन्दको घोषणा गरिहाल्यो- आज अर्थात् पुस ७ गते। आजको बन्दले पनि माग पूरा हुनेवाला छैन, निश्चित छ। किनभने नेपाल आयल निगम भारतको भन्दा नेपालको मूल्य सस्तो भएकोले बाध्य भएर मूल्य बढाउनु परेको तर्क गर्छ।
पेट्रोलियम पदार्थको मूल्यवृद्धिसँगै विशेष गरी विद्यार्थी संगठनहरुले चर्को आन्दोलन गर्ने चलन पुरानै हो। तर बिस्तारै विद्यार्थीहरुले यो मुद्दा छाडिसके। आयल निगमले पनि स्वचालित मूल्य प्रणाली अपनाउने भनी ठूलो तामझाम गर्यो। तर विश्व बजारमा मूल्य घट्दा पनि घटाउन सकेन। अहिले भने मूल्य बढाइरहेको छ। नाफामा रहे पनि निगम मूल्य बढाउन उद्दत रहेको छ।
र निगमको यही चालालाई पुरानै अस्त्रले प्रहार गर्दैछ विप्लव माओवादी। त्यसो त जनमानस माझ अलोकप्रिय हुँदै गएको बन्द जस्तो पुरानो अस्त्र प्रहार गर्दै जनताको ‘फियर फ्याक्टर’ चेक गर्ने रणनीतिमा रहेको विप्लव माओवादीको यो पहिलो बन्द हैन। यो वर्ष मात्रै यसअघि उसले दुई वटा बन्द गरिसकेको छ- साउन १० गते सुकुम्बासी बस्तीमा दमन गरेको विरोधमा र कात्तिक २८ गते महँगी र खाद्य सम्प्रभुताका लागि।
बन्द पुरानो थोत्रो भइसकेको अस्त्र हो। अलोकप्रिय पनि छ। कसैले रुचाउँदैनन् पनि। तर फियर फ्याक्टरकै कारण अवज्ञा गर्ने हिम्मत पनि गर्दैनन्। र त अझै फस्टाइरहेको छ बन्दको धन्दा।पछिल्लो समय बन्द विरोधी भन्ने पार्टीहरुले समेत संविधान संशोधन प्रस्तावको विरोधमा विभिन्न जिल्ला बन्द गर्दै आएका छन्।