निशानदाजु भट्टराई
दाङ,पुस ६ –
लोक गायिका कोमल वलीले राजनीतिलाई मर्यादित बनाउन आफू कलाकारिता क्षेत्रबाट राजनीतिमा प्रवेश गरेको बताएकी छन् ।
कला र राजनीतिको अन्तर सम्बन्ध रहेको चर्चा गर्दै उनले राजनीतिलाई सफा गर्नलाई त्यस क्षेत्रमा प्रवेश गर्नुको विकल्प नरहेको बताइन् । जागरण अनलाईनले बुधवार घोराहीमा गरेको पत्रकार भेटघाटमा राप्रपा नेतृ वलीले राप्रपा र राप्रपा नेपाल एकीकरणपछि देशब्यापी पार्टीप्रति प्रवेशको लहर चलेको भन्दै अब बैकल्पिक शक्तिकारुपमा आउने दावि समेत गरिन् ।
उनले पार्टीको एकीकरणपछि हुन लागेको महाधिवेशनमा आफूले महामन्त्री पदमा लड्ने सोंच बनाएको बताइन् । ‘पार्टिको महामन्त्रीमा लड्ने मैले सामान्य सोच बनाएकी छु, तर, यस विषयमा पार्टीका नेताहरुसंग सल्लाह गरेर नै घोषणा गर्नेछु,’ पत्रकार सम्मेलनमा उनले भनिन्– ‘कलाकारिता र राजनीति दुवै सामाजिक सेवा गर्ने अवसर हो, अब मैले कलाकारिताबाट राजनीतिमा प्रवेश गरेर सेवा गर्ने योजना बनाएकी छु ।’
पछिलो समयमा राजनीतिलाई सेवा भन्दा पनि ब्यापारसंग जोड्दा समस्या सिर्जना भएको उनले बताइन् । राजनीति सेवा भएपनि आजभोलि राजनीति व्यवसायतर्फ गएको प्रति दुःख व्यक्त गरिन् ।
गायिका वलीले राजनीतिलाई सेवामा रुपान्तरण गर्नुपर्ने बताइन् । समाजमा अझै पनि धेरै अशिक्षा, बहुबिवाह, कुसंस्कार जस्ता कुराहरु रहेको बताउदै गायिका वलीले त्यसलाई निर्मुल पार्न सरकारले स्पष्ट नीति ल्याउनुपर्नेमा जोडसमेत दिइन् ।
उनले देशमा परिवर्तन ल्याउन एक्लै असम्भव रहको पनि बताइन् । साथै सबैको साथ र सहयोगले मात्र देश विकासमा सम्भव रहेको बताइन् । जागरण अनलाइनका प्रबन्धक देव यादवको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै गायिका वलीले बैचारिक रुपमा आफू राप्रपामा प्रबेश गरेको बताइन् ।
देशमा राजनीतिलाई बेचिखाने भाडाका रुपमा विकास गरेको भन्दै थ्रेसहोल्डको आवश्यकता औल्याएकी थिइन् । प्रजातन्त्र हुँदै देशमा लोकतन्त्र, गणतन्त्र आएको बताउदै वलीले त्यसलाई देशका दलहरुले सदुपयोग गर्न नसकेको बताइन् ।
दलहरुले आन्दोलन मार्फत् राजा फालेको बताएकी वलीले सोचेजस्तो प्रगति हुन नसकेको दावीसमेत गरिन् ।