रोल्पा,पुस ६ –
गाउँ÷गाउँमा सञ्चालित लैङ्गिक हिंसा विरुद्धको जनचेतनामूलक कार्यक्रमले जिल्लामा यसवर्ष लैङ्गिक हिंसाका घटना कम भएकोे छ ।
अघिल्लो वर्ष जिल्ला प्रहरी कार्यालयमा लैङ्गिक हिंसाका अधिक उजुरी आउने गरेकामा सरकारी निकायको कम पहुँच भएका गाविस छनोट गरी सो कार्यक्रम सञ्चालन गरिएको लैङ्गिक हिंसा निवारण जिल्ला कार्यकारी सञ्जालका अध्यक्ष श्रीकुमारी रोकामगरले बताउनुभयो ।
स्थानीय राजनीतिक दल, युवा क्लब, लैङ्गिक हिंसापीडित र आमा समूहका प्रतिनिधिको सहभागितामा उक्त कार्यक्रम सञ्चालन गरिएको थियो ।
जिल्लाका घर्तीगाउँ, जैमाकसला, खुङ्ग्री, मिझिङ, थवाङ, जौलीपोखरी, गैरीगाउँ, हार्जङलगायतका गाविसमा गरिएको उक्त कार्यक्रम पछि यस्ता घटना कम भएको जिल्ला प्रहरी कार्यालयका महिला सेल इन्चार्ज दीलकुमारी बुढामगरले बताउनुभयो ।
सो कार्यक्रम प्रभावकारी देखिएकाले यसवर्ष अन्य गाविसमा पनि निरन्तरता दिने सञ्जालका अध्यक्ष रोकामगरले बताउनुभयो । – रासस