काठमाडौं, पुस ५ –
उपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधिले युवा संघ नेपालका रुपन्देही अध्यक्ष दुर्गा तिवारीका हत्यारालाई जतिसक्दो चाँडो कानूनी कठघरामा उभ्याउने प्रतिबद्धता जनाएका छन् ।
अध्यक्ष राजीव पहारीको नेतृत्वमा गृह मन्त्रालयमा आएको युवा संघ टोलीको मंगलबार ज्ञापन पत्र बुझ्दै गृहमन्त्री निधिले घटनामा सरकार गम्भीर रहेको भन्दै अपराधीलाई कानुनको कठघरामा उभ्याउने बताए ।
‘सरकारले हत्या छानबिनमा कुनै कमी गर्ने छैन । अपराधीलाई कानुनको कठघरामा उभ्याउँछौं,’ निधिले भने– ‘तपाईहरु सकेसम्म आन्दोलन नगर्नुस् । र, शान्तिपूर्ण बनाउन अनुरोध गर्छु । बन्द हड्ताल लगायतका जनतालाई दुःख दिने प्रकृतिका विरोध कार्यक्रम नगर्नुस् ।’गृहमन्त्रीले निधिले घटनाले गम्भीर मानवीय क्षति भएको भन्दै दुःख व्यक्त गरेका थिए ।
छिटो भन्दा छिटो अपराधी पत्ता लाग्छः आईजीपी अर्याल
यसैबीच प्रहरी प्रमुख आईजीपी उपेन्द्रकान्त अर्यालले घटनाको छानविनमा नेपाल प्रहरी गम्भीर भएर लागेको भन्दै अभियुक्तलाई छिटो भन्दा छिटो सार्वजनिक गरिने बताए । ‘हामीले सबै संयन्त्र परिचालन गरेका छौं । एउटा विज्ञ टोली हिजो नै घटनास्थल पठाइसकेको छु । घटनामा संलग्नलाई चाँडो भन्दा चाँडो कानूनी कठघरामा ल्याउँछौं,’ उनले भने ।