माधब न्यौपान,
भैरहवा, मंसिर २०–
संविधान संशोधन गरी प्रदेश नम्बर ५ को सीमांकन हेरफेर सम्बन्धि दर्ता गरिएको प्रस्तावको विरोधमा रुपन्देही लगायतका जिल्लामा नेकपा एमाले सहितका दलहरुले आन्दोलन चर्काइरहेका बेला संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा रुपन्देहीले भने यो आन्दोलनको कुनै औचित्य नभएको बताएको छ ।
मधेसी मोर्चा रुपन्देहीद्धारा आइतबार भैरहवामा आयोजित पत्रकार सम्मेलनमा मोर्चाका नेताहरुले उक्त कुरा बताएका हुन । प्रदेश टुक्रयाउने बिधेयक विरुद्धको आन्दोलनले रुपन्देही जिल्लामा साम्प्रदायिक दंगा गराउन खोजेको मार्चाको आरोप छ ।
मोर्चा रुपन्देहीका संयोजक तथा संघीय समाजवादी फोरम रुपन्देहीमा अध्यक्ष महेन्द्र यादवले एमालेको सहमतीमा दुई नम्बर प्रदेशमा पहाड नजोडिँदा समस्या नहुने तर ५ नम्बर प्रदेशमा पहाडलाई अलग गर्दा नाटकीय रुपमा आन्दोलन भइरहेको तर्क गरे । उनले मधेशी, जनजाति, दलित र महिलाको विरुद्धमा लाग्ने शक्ति पतन हुने दावी गरे ।
तराई मधेस सदभावना पार्टी रुपन्देहीका जिल्ला अध्यक्ष श्रीनिवास यादवले एमालेले जिल्लामा मुठभेठ गराउन खोजेको आरोप लगाए ।
सदभावना पार्टीका केन्द्रीय सदस्य राजेन्द्र गुप्ताले अहिलेको जारीे आन्दोलनमा राष्ट्रिय झण्डा प्रयोग हुनु दुःखद रहेको बताए । आन्दोलनले द्धन्द्ध निम्त्याउन सक्ने खतरा भएको उनले चिन्ता व्यक्त गरे ।
त्यस्तै तराई–मधेस लोकतान्त्रिक पार्टी रुपन्देहीका अध्यक्ष अजय वर्माले रोल्पामा पानी पर्दा बुटवलमा छाता ओढ्नुको कुनै अर्थ नरहेको टिप्पणी गरे । रुपन्देहीलाई ५ नम्बर प्रदेशमै यथावत राखिएको भन्दै उनले पहाडी जिल्लाको आन्दोलन रुपन्देहीमा गर्नुको औचित्य नरहेको बताए ।
मोर्चाका नेताहरुले उद्योगी व्यवसायी, यातायात व्यवसायी र शिक्षण संस्थाका सञ्चालकहरु स्वयं नै आन्दोलनमा उत्रिएको भन्दै असन्तुष्टि व्यक्त गरेका थिए । उनीहरुले आन्दोलन नरोकिए आफूहरु प्रतिकारमा उत्रिन बाध्य हुने समेत बताए ।