काठमाण्डौ । भोजपुरको साल्पासिलिछो गाउँपालिका वडा नम्बर ५ स्थित किरात सृष्टिकर्ता सुम्निमा–पारुहाङको मुन्दुमी प्रतिमा अनावरण गरिएको छ । विशेषगरी किरात समुदायको पवित्र धार्मिक तथा सांस्कृतिकस्थलमा सा अनावरण गरिएको हो ।
अनावरण मुन्दुमी संस्कारअनुसार नाक्छोङ (धामी)हरुले सुप्तुलुङ (तिन चुल्हा) पुजेर अनावरण गरिएको साल्पा सिलिचुङ सरोकार संरक्षण तथा प्रवद्र्धन केन्द्र अन्तर्राष्ट्रिय समितिका सह–संयोजक गजेन्द्र खालिङले बताए । सह–संयोजक खालिङका अनुसार प्रतिमा अनावरण पश्चात गाउँपालिकालाई हस्तान्तरण गरिएको छ ।
सुम्निमा–पारुहाङको अर्धकातको प्रतिमा निर्माण गरिएको ठाउँमा सुप्तुलुङ अर्थात तिन चुल्हाको निर्माण समेत गरिएको छ । अनावरण गरिएको सो प्रतिमा किरात धर्म, संस्कृति र दर्शनको गहिरो व्याख्यामा आधारित रहनुका साथै भावी सन्ततिमा सुम्निमा–पारुहाङप्रतिको विश्वास मजबुत बनाउने उद्देश्य राखिएको छ ।
आगामी चरणमा वाबुक सोलेन्वा मुन्दुमी गेट तथा विभिन्न मुन्दुमी संरचनाहरु निर्माण गरिने जानकारी समेत निर्माण समितिले दिएको छ । साल्पा सिलिचुङ खोटाङ, भोजपुर, सोलुखुम्बु र सङ्खुवासभा चार जिल्लाको सङ्म स्थलमा अवस्थित छ ।