सोलुखुम्बु । थुलुङ दुधकोशी गाउँपालिका-८ देउसामा चार दिनदेखी जारी उद्यमशिल विकास (कुचो) तालिम सकिएको छ ।
गाउँपालिका प्रवक्ता तथा वडा नम्बर ७ का वडा अध्यक्ष भोजराज कार्कीको प्रमुख आतिथ्यतामा उक्त तालिमको आज आइतबार समापन गरिएको हो ।
देउसा कृषि वन श्रोत केन्द्रमा संचालित उक्त तालिममा थुलुङ दुधकोशी गाउँपालिका सहित माप्यदुधकोशी गाउँपालिकाका १५ जना कृषकको सहभागीता रहेको छ । इको हिमाल नेपालको सहयोगमा कृषि वन श्रोत केन्द्रले आयोजना गरेको तालिममा बेदरमण भट्टराईले
सहजीकरण गर्नुभएको केन्द्रका सचिव केशव राईले जानकारी दिनुभयो ।
कार्यक्रममा बोल्दै थुलुङ दुधकोशी गाउँपालिका वडा नम्बर ८ का वडा अध्यक्ष राजेश बाबु किराँतीले भत्ताको लागि तालिममा सहभागी हुने परिपाटीको अन्त्य हुनुपर्नेमा जोड दिनुभयो । पैसा तिरेर सीप सिक्नुपर्नेमा उल्टै पैसा खोज्दा गाउँमा रोजगारी सृजना हुन नसकेको भन्दै वडा अध्यक्ष किराँतीले नागरिक आफै जागरुक हुनुपर्ने बताउनुभयो ।
यस्तै पालिका प्रवक्ता तथा वडा नम्बर ७ का वडा अध्यक्ष भोजराज कार्कीले तालिम केवल तालिममा मात्रै सिमित हुँदा उपलब्धि बिहिन भएको बताउनुभयो । प्रमुख अतिथिको आषणबाट बोल्दै प्रवक्ता कार्कीले समाजमा सकारात्मक तथा रचनात्मक सोच र विचारको अभावले गाउँको विकास पछि परेको बताउनुभयो ।
अहिलेको स्थानीय सरकारले रचनात्मक कार्यमा जोड दिएको भन्दै उहाले एक व्यक्ति एक सीप, एक टोल एक उद्यमको विकास मार्फत रोजगारी सृजना गर्न तर्फ आफुहरु लागेको बताउनुभयो ।
कृषि वन श्रोत केन्द्र देउसाका अध्यक्ष तिलक बहादुर राई को सभाअध्यक्षतामा उक्त तालिमको समापन गरिएको हो ।