काठमाडौं । काठमाडौं उपत्यकामा वायु प्रदुषण उच्च देखिएको छ । सोमबार साँझ काठमाडौं आसपासमा एअर क्वाली इन्डेक्स (एक्युआई) ४०३ पुगेको छ ।
पश्चिमी वायुको प्रभावका कारण काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम बढेको र वायु अत्यधिक प्रदूषित भएको मौसमविद्हरु बताउँछन् ।
वन तथा वातावरण मन्त्रालयअन्तर्गतको वातावरण विभागको आँकडाले पनि उपत्यकाको वायु अत्याधिक प्रदुषित भएकाे जनाएको छ । वातावरण विभागको वायु गुणस्तर निगरानीका अनुसार आइतबार भैंसेपाटीको एक्युआई १७३ थियो ।
२४ घण्टामै वायुको गुणस्तरमा दुई सय प्रतिशतभन्दा बढीले खराब भएको देखिन्छ । सोमबार दिनभर काठमाडौं उपत्यकामा घाम लागेन । आज पनि बिहानैदेखि घाम देखिएको छैन् । सडकमा हिँड्दा आँखा पिरो–पिरो भएको पैदल यात्रुले अनुभव गरेका छन् ।
साँझपख घर बाहिर निस्कने धेरैले आँखा पिरो भएको अनुभव गरेका थिए । अत्याधिक वायु प्रदूषणका कारण समस्या भएकोले घरबाहिर ननिस्कन जनस्वास्थ्य विज्ञको आग्रह छ । जनस्वास्थ्य विज्ञ डाक्टर समिरमणि दिक्षितले वायु प्रदुषण बढेकोले आज र भोलि घरबाहिर ननिस्कन आग्रह गरेका छन् ।