मैले बुझ्न नसकेको प्रेमको अर्थ,
नेपाली शब्दकोशको सुन्दर शब्द ‘प्रेम’
अक्षर गन्दा मात्र दुई अक्षर,
शब्दमा उसै तिमी एउटै प्रेम।
तर …..
अपरिभाषित र असीमित रुपका साथ
कसैलाई जीवन साथ त कसैलाई घात,
मैले बुझ्ने प्रयास गरिनँ या बुझ्न सकिनँ,
ठ्याक्कै आम मान्छेहरुले झै ।
मन मिलेसम्म सबै काम सकियो प्रेम,
न जात, न भात, न समाज, न इज्जत
बस हिसाब किताब गर्यो सकियो प्रेम,
कुन्नी खै कहाँ हिसाब बिग्रनु पुग्छ ।
अनि सुरु हुन्छ जात, भात, समाज
उसै उसै थपिन्छ धन, सम्पत्ति पनि
प्रेमभित्र लुकेका तिम्रा घृणित नजरहरुलाई
अनि पिपासु मन भित्रको आदतलाई
‘प्रेम; तिमी कहाँ कहाँ पुगेनौ होला ।
रुकुम, रोल्पामा एउटा केटा मारिन्छ, प्रेम
नुवाकोट, सिन्धुपाल्चोकमा नर्स मारिन्छे, प्रेम
मोरङ, झापामा हत्या हुन्छ, प्रेम
भोजपुरमा एउटीले खुकुरी प्रहार गर्छे प्रेम
यो त सब तिम्रो ‘ट्रेलर’ मात्र न हो ।
बाकी पुरै ‘फिल्म’ नै हेर्ने हो भने आज सकिन्न ।
अब भन यस्ता कति छन् तिम्रा रुप
यकिन छैन तिम्रो रुपको गरेर वर्णन ,
बोल्न सक्नेले बोल्यो, लड्न सक्नेले लड्यो ।
तसर्थ समाचारमा तिमी ‘हाइलाइट’ भयौं ।
तर सत्य के हो आज पनि थाहा भएन ।
‘प्रेम’ पवित्र शब्दको आडमा के हुँदै छ भनेर ।
त्यसो त अझै संसारमा जो त्यस्ता छन्
न बोल्न सक्छ, न लड्न नै
प्रत्येक सेकेन्ड जिउदो लास बन्दै छ।
उनिहरु न अखबारमा आउँछन्,
न प्रेम रोग कै कारण मर्दैछ भनेर पत्ता लाग्छ।
त्यसैले त म भन्छु-
तिमी संसारको सबै भन्दा खतरनाक ‘रोग’ हौं ।
तिम्रो नामको उपचार गराउन,
बिश्वमा ‘हस्पिटल’ बनेकै छैन ‘प्रेम’ ।
अनि छन् त छन् अमर पनि बनेका छन् ।
‘मुना-मदन’ र ‘रोमियो-जुलियट’ झै
इतिहासमा आफ्नो मृत्युलाई पनि जितेका छन्
दुख, सुख साटासाट गरेका छन्,
तिम्रो नाममा सम्झौंता गर्न सक्नेहरु मात्र ।
कसैको ज्यान लिन्छौं त कसैलाई बचाउछौं ।
भन कुन रोग र कुन ‘औषधी’ हौ तिमी ?
अझै मैले बुझ्न सकिनँ ‘प्रेम’ तिमीलाई।
•••
हलेसी तुवाचुङ नगरपालिका -०७ हलेसी खोटाङ
विमला राई चाम्लिङलाई सामाजिक संजालमा भेट्न यहाँ क्लिक गर्नुहोस् ।