गाउँले न्युज, सोलुखुम्बु । सोलुदुधकुण्ड नगरपालिका पाट खुम्बु पासाङ्गल्यामु उडेको हेलिकोप्टरबाट निर्माणका सामान खसेको छ । सोलुदुधकुण्ड नगरपालिका १ टाक्सिन्दु डाँडाबाट खुम्बु पासाङ ल्हामु गाउँपालिका ४ दिङ्बुचेका लागि कार्गो सहित उडेको हेलिकोप्टरवाट सामान खसेको सोलुखुम्बु प्रहरीले पुष्टी गरेको छ ।
जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरिक्षक महेन्द्र दर्नालका अनुसार शनिबार बिहान १०ः३६ बजे सोलुदुधकुण्ड नगरपालिका १ को लुङ्दिङ खोला जंगलमा २ रोल म्याटीस र इको प्यानलको ३१ थान जस्तापाता खसेको हो । कैलाश एयरको ९ एनएएमटीको हेलिकोप्टरले दिङ्बुचेका कुलबहादुर तामाङको निजी सामान लिएर टाक्सिन्दुबाट उडेको थियो ।
यस बारेमा कैलाश हेलिकोप्टर सर्भिसेज प्रा.लि.का जनरल म्यानेजर प्रतापजंग पाण्डेले भने आफु नेपाल बाहिर भएकाले जानकारी नभएको भन्दै आफ्नो कम्पनीको कम्जोरी लुकाउने प्रयास गरे । टेलिफोन संबादमा उहाँले आफूलाई घटनाको बिषयमा केही पनि जानकारी नभएको भन्दै अरुको सम्पर्क नम्बर उपलब्ध गराउने बताए पनि नम्बर उपलब्ध गराएनन् ।
कानुन विपरित कार्गो ढुवानी
खुम्बु क्षेत्रको लागि आवश्यक सामान ढुवानीमा प्रयोग हुुने सानो हेलिकोप्टरले झुण्डाएर सामान ढुवानी गर्छ । तर उडान हुुने स्थलमा कुनै सुरक्षा जाँच गर्ने गरिएको छैन । नेपाल नागरिक उड्डयान ऐन २०७३ को परिच्छेद ८ को हवाई सुरक्षा अन्तरगत खानतलासी गर्नुपर्ने दफा १ मा बिमानस्थलका अधिकार प्राप्त कर्मचारी वा सुरक्षाकर्मीबाट खानतलासी नगराई कुनैपनि यात्रु, मालसामान आदिलाई विमानस्थल निषेधित क्षेत्रमा प्रवेश गराउनु वा वायुयानबाट ओसारप्रसार गर्नु गराउनु हुँदैन ।
यस्तै सोही ऐनको परिच्छेद १२ को बुँदा नम्बर ९४ को दफा २ को (क) मा उडान योग्यताको प्रमाणपत्र वा उडान अनुमति बेगर त्यस्तो प्रमाणपत्र वा अनुमतिमा तोकिएको सर्तको विपरित हुने गरि वायुयान सञ्चालन गरेमा एक लाख देखि १० लाखसम्म जरिवाना हुन सक्ने व्यवस्था पनि उल्लेख गरेको छ ।
नियमनकारी निकायको मौनता, हेलिकोप्टरको मनोमानी उडान
विगतको दिनमा पनि यस्ता घटना भईरहेको भएपनि नियमनकारी निकाय मौन बसेको स्थानीयको गुनासो छ । हवाई उडानकै कारण असुरक्षित महशुस भईरहेको भन्दै स्थानीयले प्रहरी प्रशासनलाई गुहार मागेको भएपनि हालसम्म यस बिषयमा कुनै निर्णय भएको छैन । गत भदौ १९ गते बिहिबारका दिन उडिरहेको कैलास एयरकै हेलिकोप्टरबाट सोलुदुधकुण्ड नगरपालिका २ को फेरामा सिरक लगाएतको सामान खसेको थियो ।
शनिबारको घटना घना जङ्गलमा भएकाले मानवीय क्षती भने नभएको लुक्ला बिमानस्थलका प्रमुख इमनाथ अधिकारीले बताए । तर कनुै मानव बस्तीमा उक्त घटना भएको भए ठुलै क्षती हुन सक्ने अधिकारीको शंका छ । कैलाश एयरको सो हेलिकोप्टर लुक्ला बिमानस्थलको हेलिप्याडमा सकुशल अवतरण भएको थियो ।
हेलिकोप्टर कम्पनीको दादागिरीलाई स्थानीय प्रशासन तथा विभागले समेत सहयोग गरिरहेको स्थानीय पासाङ शेर्पाले दाबी गरे । सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी रमा आचार्यले भने यस घटनालाई गम्भिर रुपमा लिएको भन्दै प्रहरीको स्थलगत रिपोर्ट पछि थप निर्णय गर्ने बताइन् । संवेदनशिल घटना घटेको भन्दै प्रहरी टोली घटनास्थल तर्फ जाँदै गरेको उनको भनाइृ छ । घना जंगल भएकोले प्रहरी घटनास्थल पुग्न कठिनाई भएको समेत आचार्यले बताइन् ।
नेपाल नागरिक उड्ययान प्राधिकरणका उपमहानिर्देशक एवम् प्रबक्ता राजकुमार क्षेत्रीले भने आईतबार आकस्मिक बैठक बसेर निर्णय गरिने बताए । घटनाको बिषयमा लिखित जानकारी प्राप्त भएकाले समस्याको दिगो समाधान तर्फ लाग्ने भन्दै क्षेत्रीले ऐन तथा नियमावलीमा उल्लेख भएअनुसार कार्वाही प्रक्रिया अगाडी बढाउने बताए । बारम्बार घटना भएको जानकारी आएकाले नियम अनुसार प्रक्रिया अगाडी बढाउन नागरिक उड्यायन कार्यालय गम्भिर भएको उनको भनाई छ ।
जिल्लाको माथिल्लो खुम्बु क्षेत्रमा सडक पहुँच नभएकाले सामान ढुवानी गर्ने सहज माध्यम हेलिकोप्टर भएपनि कम्पनीले नियम विपरित मनोमानी उडान तथा अवतरण गर्दा त्यस क्षेत्रका स्थानीय देखि बन्यजन्तुलाई समेत असर परेको सगरमाथा राष्ट्रिय निकुञ्जका नाम्चेका प्रमुख भुमिराज उपाध्ययले बताए । उनका अनुसार उडान तथा अवतरण बापत्को राजश्व समेत उठ्न सकेको छैन ।
सभार: सोलुखुम्बुसमचार