सम्बृद्व गाउँपालिका निर्माणका आधार तयारः धेरै काम, थोरै प्रचार

सम्बृद्व गाउँपालिका निर्माणका आधार तयारः धेरै काम, थोरै प्रचार

गाउँले न्युज, २७ असार, सोलुखुम्बु । सोलुखुम्बु जिल्लाको माप्य दुधकोशी गाउँपालिकाको दुई आर्थिक वर्ष सन्तोषजनक रुपमा बितेको छ । दुई वर्ष अवधिमा लक्षित योजना र जनअपेक्षालाई सम्बोधन गरिएको र सम्बृद्ध गाउँपालिका निर्माणको लागि आधार तय गरी अघी बढिएको गाउँपालिका अध्यक्ष बुद्धिकिरण राईले दाबी गरेका छन् ।

आफुहरु प्रचारबाजीमा नभई काममा ध्यान दिइएकाले गाउँपालिकाले हासिल गरेको सफलताबारे कम प्रचार भएको अध्यक्ष राईको भनाइ छ । अध्यक्ष राईका अनुसार उत्पादन र रोजगारीसँग प्रत्यक्ष जोडिने कार्यक्रमहरुका साथै भौतिक पूर्वाधार, सडक सञ्जाल, विद्युत, खानेपनी, शिक्षा, स्वास्थ्य, खेलकुदलगायत सबै क्षेत्रको विकासमा प्राथमिकताका साथ तीब्र गतिमा अघि बढाइएको छ ।

ओगेन छोलिङ गुम्बामा कम्प्युटर कक्षाको उत्घाटन गर्नुहुँदै गाउँपालिका अध्यक्ष बुद्दी किरण राई, फोटो: गाउँले न्युज

अहिलेसम्म गाउँपालिकाको केही क्षेत्रबाहेक सबैलाई वडालाई जोड्ने सडक सञ्जाल विस्तार भइसकेको र अहिले सडक स्तरोन्नति तथा कालोपत्रेका लागि काम अघि बढाइएको छ । त्यस्तै मोटरेबल पुल, झोलुङगे पुल, विभिन्न साँस्कृतिक केन्द्रहरुको पूर्वाधार विकास भइरहेका छन् भने उत्पाद र रोजगारका लागि विभिन्न तालिम, कृषि तथा पशुपालनका लागि अनुदान एवं प्रोत्साहनमूलक योजनाहरु सञ्चालनमा ल्याइएको छ ।

अध्यक्ष राईले आफ्नो कार्यकालमा कृषि र पशुपालनमा आत्मनिर्भरसँगै व्यवसायिक बनाउने, तीन वटै मोटरेबल पुल निर्माण गरिसक्ने, नेपालकै आकर्षक किराती चिण्डो निर्माण गरिसक्ने, गाउँपालिकालाई पर्यटीय गन्तव्यको रुपमा विकास गर्ने, गाउँपालिकाको केन्द्रबाट प्रत्येक वडामा सडक सञ्जालले जोड्ने र मुख्य हाईवेलाई कालोपत्रे गरिसक्ने लगायतका योजनाहरु रहेको बताए ।

गाउँपालिकाको दुई वर्ष अवधिमा भएका काम र अघि बढाइएका योजना तथा कार्यक्रमहरुः
सडक सञ्जाल विस्तार, स्तरोन्नति र कालोपत्रेः
सदरमुकाम सल्लेरी सेर्गाखोपदेखि खरिखोलासम्म जोड्न बाँकी रहेको ठूलोढुंगादेखि जुभिङसम्मको ट्रयाक ओपनका ट्रयाक ओपनको काम सम्पन्न गरिएको छ । सेर्गाखोपदेखि मौरीखोलासम्मका लागि विनियोजित १ करोड ७ लाख बजेटले स्तरोन्नति गरी बर्खामासमेत गाडि चल्ने बाटो तयार भएको छ ।
प्रदेश सरकारबाट सेर्गाखोपदेखि मुलखर्कसम्मका लागि विनियोजित १ करोड २५ लाख र मुलखर्कमुनीको ओरालोको लागि विनियोजित १ करोड ५० लाख बजेटबाट सडक कालोपत्रे गर्ने काम सुरु भइसकेको छ ।
त्यस्तै गाउँपालिकाबाट विनियोजित ५० लाख बजेटले सरिम्या ओरालो बङुर फारमको साँघुरो ट्रर्निङहरुलाई डिपीआरअनुसार विस्तार तथा स्तरोन्नति गर्ने काम भइरहेको छ ।
सल्लेरी सेर्गाखोपदेखि खरिखोला डाँडाँसम्मको करिब ४५ किलोमिटर हाईवेका लागि डिपीआर बनाउने क्रममा साढे १७ किलोमिटरको डिपीआर फाइनल रिपोर्ट अइसकेको र बाँकीको डिपीआर फाइनल रिपोर्ट छिट्टै आउँदैछ ।

सदरमुकाम सल्लेरी देखी माप्य दुधकोशी हुँदै खुम्बु जोड्ने बाटो स्तर उन्नती हुँदै, फोटो: गाउँले न्युज

कायघाटदेखि फापरेडाँडाँ हुँदै हाँकुला, त्याप्तेल र दङ्खी जोड्ने सडक, त्यस्तै फापरे डाँडाँबाट देलबय, रोचम, सोलाबन जोड्ने सडक तथा फापरे डाँडाँबाट वाप्सा, तामाखानी, टारी लामबगरसम्म सडक ट्रयाक ओपन गर्ने काम सम्पन्न भइसकेको छ । रन्यामदेखि फापरे डाँडाँसम्मको कालोपत्रका लागि डिपीआर तयार गरेर फाइनल रिपोर्ट आइसकेको छ ।

सेतीहालबाट अम्रास, धकम्यलुङ जोडने, नाम भस्मेबाट बुर्दुम, कोफु जोड्ने सडक केहीमात्र बाँकी, छाँगाबाट सुन्दरझरना, नगियाङ, खाप्चिङ जोड्न् सडक ट्रयाक ओपन भइसकेको छ । अब यी सडकहरुको स्तरोन्नति र कालोपत्रेमा जोड दिइएको छ ।
यसरी हेर्दा अब वडा नम्बर ७ को साकरनाम, हिल, छेछेव्या, सोलाबन, सिवुचे, वडा नम्बर १, २, ३ र ५ को केही भागबाहेक गाउँपालिकाको सबै क्षेत्रलाई सडक सञ्जालले छुइसकेको छ ।

यसरी बन्दै तीन वटा मोटरेबल पुलः
गाउँपालिकाको विभिन्न वडालाई जोड्ने मोटरेबल पुल निर्माणको काम अघि बढाइएको छ । आव २०७६/०७७ मा गाउँपालिकाबाट ओर्लाङघाट मोटरेबल पुलका लागि २ करोड ७५ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ । माप्य दुधकोशी गाउँपालिका वडा नम्बर १ र २ को बीचको उक्त पुल माप्य दुधकोशी गाउँपालिका र खुम्बु पासाङल्हामु गाउँपालिकालाई जोड्ने महत्वपूर्ण कडिको रुपमा रहेको छ ।
८ करोड ३४ लाख रुपैयाँको टेण्डर भएर निर्माण कार्य अघि बढाइएको उक्त पुलका लागि संघीय सांसदमार्फत ९० लाख, प्रदेश सरकारबाट २ करोड रुपैयाँ विनियोजन भएको छ भने बाँकी रकम माप्य दुधकोशी र खुम्बु पासाङल्हामु गाउँपालिकाबाट ५०/५० प्रतिशत हिस्सा बजेटको व्यवस्था गर्ने सम्झौता भएको छ । ४८ मिटर लामो र ५० टन क्षमताको उक्त पुलको नाम माप्य खुम्बु मितेरी पुल भनेर नामारण गरिएको छ । उक्त पुल आउँदो चैत्र महिनाभित्र उद्घाटन गरिने गाउँपालिका अध्यक्ष राईले बताए ।

ओरालङघाट मोटारेबल पुल निर्माणको लागि सामान लगिदै सल्लेरिमा, फोटो: गाउँले न्युज

माप्य दुधकोशी गाउँपालिकाको कोशीपारी वडा न ६ र ७ तत्कालिन वाकु गौ बिकास समिती तर्ने कायखेत मोटरेबलको लागि पनि आव २०७६/०७७ को बजेटमा २ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ । करिब ४० मिटर लामो उक्त पुलको मा हेम कुमार राई सुरबिरको सम्सदीय कोषबाट १० लाख रकम बिमियोजन गरी डिपीआर तयार भाइसकेको र टेण्डर आउँदो साउन महिनामा गरि एक वर्षभित्र पुलको निर्माण कार्य सकिनेगरी योजना अघि बढाईने अध्यक्ष राइले दाबी गरेको छ ।
त्यसपछि अर्को लामबगर मोटरेबल पुलका लागि पनि काम अघि बढाइएको छ र अहिले माटो परिक्षणलगायतको काम गरिएको छ ।
झोलुङ्गे पुलः
भौगोलिक विकटाका कारण आवतजावतमा देखिएको समस्याहरुलाई ध्यानमा राखेर आवश्यकताअनुसार झोलुङ्गे पुल निर्माण कार्य पनि तीब्रताका साथ अघि बढाइएको छ । यसक्रममा अहिलेसम्म चेल्सी खोला वडा नम्बर ३ र ४ जोड्ने झोलुङ्गे पुल तथा वडा नम्बर ३ र ६ जोड्ने दुधकोशीमा झोलुङ्गे पुल निर्माण भइसकेको छ ।

चेल्सी खोला वडा नम्बर ३ र ४ जोड्ने झोलुङ्गे पुल, फोटो: गाउँले न्युज

माप्य दुधकोशी गाउँपालिकाको वडा न ६ इंखु खेलामा झुम्काई र सोताङ गाउँपालिकाको १ न वडा पावै जोड्ने झोलुङ्गे पुल तथा गाउँपालिकाको वडा नम्बर १ र ७ नम्बर जोड्ने ठाने खोलामा झोलुङगे पुल निर्माणका लागि बजेट आइसकेको छ ।
खानेपानी आयोजनाः
खानेपानीका लागि टोलटोलमा आवश्यकताअनुसार योजनाहरु अघि बढाइएको छ । गाउँपालिकाको ठूलो योजनाका रुपमा अहिले माप्य दुधकोशी गाउँपाली २ राप्छा र ६ न वडा वाँकुको खानेपानी अघि बढाइएको छ । जसका लागि बजेट आर्थिक वर्ष २०७६/०७७ मा ४०/४० लाख बिनियोजन गरिएको जस्को बाँकी रकमको लागि प्रदेश र केन्द्र सरकारसँग अनुरोध गरी व्यवस्था गर्ने अध्यक्ष राईले बताए छ ।
गाउँपालिकाभित्रका भौतिक संरचनाहरुः
भौतिक संरचनाको विकास गर्ने क्रममा सुविधासम्पन्न गाउँ सभाहल र बासा प्रहरी चौकी बासाको भवन आरसीसी विल्डिङ निर्माण सम्पन्न गरी गत चैत्र १९ गते प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईद्धारा उद्घाटन गरिसकिएको छ ।

माप्य दुधकोशी गाउँपालिकाको गाउँसभा हल र प्रहरी चौकी तुत्घाटन समरोहमा प्रमुख अतिथी लगयत अन्य अतिथिहरु, फोटो: गाउँले न्युज

अहिले माप्य दुशकोशी गाउँपालिका ६ न वडा वाकुमा प्रहरी चौकीको भवन निर्माण भइरहेको र करिब ८० प्रतिशत काम काम सम्पन्न भइसकेको छ । गाउँपालिकामा कृषि विकास बैंक स्थापना गरिएको छ ।
गाउँपालिका भरीको महिलाहरुका लागि भवन २ न वडा राप्छामा निर्माण सम्पन्न हुन लागेको छ । वडा नम्बर २ को वडा कार्यालय, दिलुङ संस्थाको भवन, नाममा दलित भवन, वडा नम्बर ६ को रोचम, डि देलबय र सिरान टोलमा १/१ वटा सामुदायिक भवन निर्माण भइसकेको छ ।
धेरै टोलहरुमा विद्युत उत्पादन भइरहेका छन् । तिनका व्यवस्थापन तथा स्तरोन्नतिका लागि आवश्यक बजेट विनियोजन गरिएको छ ।
तेन्दुमा निर्माणाधिन रंगशालाका लागि काम भइरहेका छ भने खाली डाँडाँको खेल मैदानको स्तरोन्नतिलाई प्राथमिकतामा राखेर काम अघि बढाइएको छ । त्यसले आवश्यकता पूर्ति गर्छ । वडा नम्बर १, ५, ६ र ७ का लागि आवश्यकताअनुसार खेलकुद पूर्वाधार विकास गर्ने योजना छ ।

माप्य दुधकोशी गाउँपालिका ३ मा निर्मित गाउँ सभा हल, फोटो: गाउँले न्युज

त्यस्तै केन्द्रीय सरकार र प्रदेश सरकारसँग समन्वयमा वाप्साको तामाखानी उत्खनन् र गाउँपालिकाभित्र निर्माण गर्न लागिएको ३७५ मेगावाट, ११० र ४७ मेगावाटको जलविद्युत उत्पादनका लागि प्रभावकारी रुपमा काम अघि बढाउने योजना पनि अध्यक्ष राईले अघि सारेका छन् । यो गाउँपालिकाको मात्रै नभएर राष्ट्रिय अर्थतन्त्रकै लागि महत्वपूर्ण कडी भएको भन्दै अध्यक्ष राईले यसलाई जनअपेक्षाअनुरुप अघि बढाउने प्रतिबद्धतासमेत जनाए ।
विभिन्न निकायसँगको समन्वय र साझेदारीमा प्रशुति गृह वाँकु र काँकुमा स्थापना गरिने छ । त्यस्तै जिल्ला समन्वय समितिसँगको साँझेदारीमा गाउँपालिकामा १५ सैयाँको अस्पताल निर्माण हुँदैछ ।
पर्यटनका लागि गुरुयोजना तयार गरिदैः
गाउँपालिकाभित्र बसोबास गर्ने विभिन्न जाति समुदायहरुको साँस्कृतिक पक्षको संरक्षन एवं प्रवद्र्धन गर्दै पर्यटन क्षेत्रसँग जोड्नका लागि प्राथमिकताका साथ काम अघि बढाइएको छ । यसै शिलशिलामा वडा नम्बर २ मा मगर संग्रहालय, सरिम्यामा साँस्कृतिक संग्रहालय भवन निर्माण सम्पन्न भइसकेको छ । राप्छा र काँकुको भूमेथानको व्यवस्थापन गरिएको छ भने वाँकुको थालेम र रोचमको लागि बजेट नियोजन गरिएको छ ।
त्यस्तै सोलाबनमा गुम्बा निर्माण गरी त्यसको आवश्यक व्यवस्थापन गरिसकिएको छ भने हिलको गुम्बाको फिनिसिङका लागि बजेट विनियोजन गरिएको छ ।
काँकु घुम्ने मेराको गुम्बाका लागि पुस्तकालय तथा किचन व्यवस्थापन र पर्यटकीय गेट निर्माणार्थ बजेट विनियोजन ।
अम्रासमा तामाङहरुको गुठी तथा गुम्बा निर्माणका लागि बजेट विनियोजन ।
किरातीहरुका लागि वडा नम्बर २ मा ८० फिट उचाईको चिण्डोको प्रतिक निर्माणको काम अघि बढाइएको छ । अहिले डिपीआर फाइनल भइसकेको छ र फाउण्डेसनको लागि काम भइरहेको छ । त्यस्तै खोटाङको हलेसीसँग जोडिएको महादेवथान व्यवस्थापनका लागि पनि बजेट व्यवस्था गरिएको छ ।

वडा नम्बर १ मा सांस्कृतिक संग्रहालय निर्माण हुँदैछ । त्यस्तै जुभिङको प्याराग्रीन, काँकुको सन्तले भीर, खास्तापको क्याम्की भीरमा रक क्लाईम्बिङको सम्भाव्यता अध्ययन गरिदै छ र सुन्दरझरणा, जलेश्वरी, रातनाङ्गे डाँडालगायतलाई पर्यटकीय गन्तव्यको रुपमा विकास गर्ने योजना अघि बढाइएको छ ।

कृषि र पशुपालनका लागि नमुना गाउँपालिकाः
माटो र भुगोल सुहाउँदो सबैखाले कृषि तथा पशुपालनका लागि अनुदान, प्रोत्साहनमूलक कार्यक्रम अघि बढाइएको छ भने विभिन्न तालिमहरुसमेत सञ्चालन गरिएका छन् ।
गाउँपालिकाको नयाँ बजेटमार्फत कृषि र पशुपालनका लागि नमुना वर्षको रुपमा घोषणा गरिएको छ । कृषिअन्तर्गत कागती, कफी, सुन्तला खेती, अकबरे खुर्सानी, कन्य च्याउ, किवी, चिया, अदुवारबेसार, अलैची तथा केरा खेती र मौरी घारसहित वितरणलगायतलाई प्राथमिकतामा राखिएको छ । कृषिमा बजेट विनियोजन गर्ने क्रममा कृषिसँग सम्बन्धित प्रविधि प्रयोग गर्नका लागि प्रत्येक वडालाई २र३ वटाको दरले कोदो र गहु चुट्ने मेसिन वितरण गरिदैछ ।
त्यस्तै पशुपालनका लागि सामुहिक बधशाला निर्माण गर्ने भनिएको छ । पशुपालनअन्तर्गत बाख्रा पालन, बंगुर पालन, गाई पालन, खोर सुधार, माछा पालन, कालिज पालनलगायतलाई जोड दिईएको छ । कालिज पालनलगायतलाई खुम्बुको पर्यटनसँग प्रत्यक्ष जोड्ने सोँच गाउँपालिकाको रहेको छ ।

त्यसैगरी कृषिजन्य वस्तुको संकलन केन्द्र स्थापना गर्ने र त्यसलाई बजारीकरणका लागि बजार व्यवस्थापन गर्ने योजना पनि बजेटमार्फत सार्वजनिक गरिएको छ ।
यसको माध्यमबाट खुम्बु आउने पर्यटकलाई आकर्षित गर्दै गाउँपालिकालाई पर्यटकीय केन्द्रको रुपमा विकास गर्न स्पष्ट गुरुयोजनाको अवधारणा अघि सारिएको छ ।

सबैलाई गाउँमा आकर्षित गर्न यस्ता कार्यक्रमः
उत्पादन र राजगारसँग जोडिएको तालिमहरु सञ्जाल गरिएको छ । प्रोत्साहनमूलक योजना तथा कार्यक्रम अघि बढाइएको छ । उद्यमशिलता र आधुनिकतासँग कसरी जोड्ने भन्ने कुरामा गाउँपालिकाले जोडतोडका साथ काम गरेको छ ।

मुख्यगरी कृषि र पशुपालन क्षेत्रमा लाग्नेहरुका प्रोत्साहनका लागि अनुदानको व्यवस्था गरिएको छ भने सिँचाईको व्यवस्थापन गरिएको छ । सबैलाई गाउँतर्फ आकर्षित गर्ने योजनाका साथ गाउँपालिकाले आफ्नो योजनाहरुलाई अघि बढाइरहेको छ । यसैको जगमा टेकेर गाउँपालिकाको आर्थिक बृद्धिदर तीब्र बनाउने लक्ष्य गाउँपालिकाको छ ।

https://gaulenews.com/?p=47033

https://gaulenews.com/?p=46744

https://gaulenews.com/?p=46495

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका