गाउँले न्युज, २० असार, काठमाडौँ । सोलुखुम्बुको माप्य दुधकोशी गाउँपालिकाको मुख्य सडक धमाधम कालोपत्रेका लागि तयारी सुरु गरिएको छ ।
सदरमुकाम समेत रहेको सोलुदुधकुण्ड नगरपालिकाबाट माप्य दुधकोशी तर्फ जाने सडकको सेर्गाखोप देखि मुलखर्कडाँडा, सरिमा हुँदै जुभीङ–ओर्लाङ घाट सम्मको खुम्बु जोड्ने सडक तीनवटा ब्लग सहित कालोपत्रेका लागि स्तरोन्नती भइरहेको हो ।
त्यसका लागि सडकको चौडाई बढाई ८ मिटर बनाउने, नालीबनाउने, र सम्याउने काम सुरु गरिएको गाउँपालिका अध्यक्ष बुद्धिकिरण राईले जानकारी दिनुभयो । पहिलो ब्लग अन्तर्गत सेर्गाखोप देखि मुलखर्कसम्मको सडक मध्ये करिव डेढ किलोमिटर सडकको चौडाई बढाउने काम सकिएको पुर्वाधार विकास कार्यलय ओखलढुंगाका सव–इन्जिनियर भरुमान राईले जानकारी दिए । आर.के.डेन्दुक जेभीले एक करोड २५ लाख रुपैयाँमा सडक स्तरोन्नतीका लागि ठेक्का लिएको हो ।
हिउँद बर्षा बाह्रै महिना सडक संचालन हुन थालेपछि सडकलाई स्तरोन्नतीगर्दै लैजाने क्रममा कालोपत्रेको योजना बनाइएको गाउँपालिकाले जनाएको छ ।
प्रदेश सरकारको एक करोड पचास लाख रुपैयाँ बजेट उक्त योजनाका लागि प्राप्त भएको छ । अध्यक्ष राईले भन्नुभयो, ‘८ मिटर चौडाई बनाइसकेपछि सडकको कालोपत्रे अघिबढाइने छ । हामीलाई बजेटको समस्या छैन त्यसैले आगामी डेढ बर्ष भित्र कालोपत्रे सक्ने हाम्रो लक्ष्य छ ।’
कागते नजिकै दियाले देखि बंगुर फर्मसम्म बीचको भागमा करिव ११ सयमिटर कालोपत्रेका लागि अर्काे ठेक्का कम्पनीले काम गरिरहेको छ । बिआर कन्स्ट्रक्सन सप्पायर्सका प्रोप्राइटर भक्त राईका अनुसार अहिले धमाधम ब्याक कटिङको काम भइरहेको छ । राईले आगामी ६ महिना भित्र कालोपत्रेको काम सकिने बताएको छ । सो सडक खण्डमा जोखीमपुर्ण रहेकाले तत्कालै कालोपत्रे गरि सुविधा सम्पन्न बनाउने तयारी एक करोड ५० लाख बजेट सहित योजना चलिरहेको छ । ५० लाख रुपैयाँको अर्काे बजेटले सरिमाको टर्निङहरुको स्तरोन्नति गर्ने काम भइरहेको छ ।
सल्लेरी–काँकु–बासाहुँदै जुभिङ जोड्ने उक्त सडकलाई कालोपत्रेको लागि संघीय सरकारबाट १० करोड विनियोजन भएको छ । करिव ४३ किलोमिटर दूरी रहेको यस सडक खण्ड कालोपत्रे भएपछि खुम्बु जाने पर्यटकका लागि ठुलो राहत मिल्नेछ । खुम्बु जाने पर्यटक बाट माप्य दुधकोशी गाउँपालिकाले समेत आर्थिक फाइदा लिन सक्नेभएकाले प्रमुख योजनामा राखिएको अध्यक्ष राईले जनाकरी दिए । आगामी दुई वर्ष भित्र ४३ किलोमिटर पुरै सडक कालोपत्रे गरि सक्ने गाउँपालिकाले जनाएको छ ।
https://gaulenews.com/?p=46985
https://gaulenews.com/?p=46776