गाउँले न्यूज, १२ चैत्र, काठमाडौं । रोजगारका लागि नेपाली श्रमिकलाई जापान पठाउने विषयमा सोमबार नेपाल सरकार र जापानबीच समझदारी भएको छ ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण बिष्टको उपस्थितिमा सोही मन्त्रालयका निमित्त सचिव रामप्रसाद घिमिरे र नेपालका लागि जापानी राजदूत सामामिची साइगोले समझदारीपत्रमा हस्ताक्षर गरेका थिए । समझदारीपछि मन्त्रालयले जारी गरेको विज्ञप्तिमा जापान जान श्रमिक भाषा र सिपमा दक्ष हुनुपर्ने उल्लेख गरिएको छ । यो खबर आजको नागरिक दैनिकमा छ । सन् २०१९ को अप्रिल १ देखि जापानले १४ वटा कार्यक्षेत्रहरु, कृषि, नर्सिङ केयर, सवारी साधन मर्मत र सम्भार, खाद्य सेवा उद्योग, खाद्य पदार्थ र पेय पदार्थको उत्पादन, आवास उद्योग, मेशिनरी पार्ट उद्योग, माछा मार्ने र माछा पालन उद्योग, औद्योगिक उपकरण उद्योग, इलेक्ट्रिक, इलेक्ट्रोनिक्स र सूचना प्रविधि उद्योग, विल्डिङ सरसफाइ व्यवस्थापन, जहाज र जहाज पाटपूर्जा उद्योग एवं हवाई उद्योगमा श्रमिक लिनेछ ।
श्रमिकलाई जापान पठाउनेसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएपछि अब नेपाली युवा कामका लागि राम्रो गन्तव्यमा जान पाउने भएका छन् ।
१४ क्षेत्रमा श्रमिक लिने सहमति भए पनि नेपाली श्रमिकको माग कति हुने भन्ने विषय भने बाँकी नै छ। जापानमा ‘स्पेसिफाइड स्किल्ड वर्कर’ (एसएसडव्लु) अन्तर्गत पहिलो वर्ग र तेस्रो वर्ग का श्रमिकहरु लिने सहमतिमा उल्लेख छ। पहिलो वर्गका श्रमिकहरुका लागि सीप वा सम्वन्धित कार्य क्षेत्रमा अनुभव आवश्यक पर्ने र त्यस्ता श्रमिकहरु बढीमा पाँच वर्षसम्म जापानमा रहन सक्ने छन् । दोस्रो वर्गका श्रमिकहरुका लागि उच्च तहको सीप आवश्यक पर्ने र त्यस्ता श्रमिकहरुको कार्यअवधि थप गर्न सकिने प्रावधान छ । दोस्रो वर्गका श्रमिकहरुले परिवारका सदस्यलाई समेत जापान लैजान सक्ने छन् ।