सल्लेरी, १५ मंसिर । माप्य दुधकोशी गाउँपालिका वडा नम्बर २, राप्छामा अवस्थित श्री बासाखाली माध्यमिक विद्यालयले आफ्नो ५०औं स्थापना दिवसको अवसरमा स्वर्ण महोत्सव २०७५ मनाउने भएको छ । ‘व्यवसायिक गुणस्तरीय शिक्षा, हाम्रो अभियान’ भन्ने मुल नाराका साथ आउँदो मिति २०७५ साल पुष २७ गतेदेखि माघ १ गतेसम्म आयोजन ागर्न लागिएको शनिबार सल्लेरीमा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइयो ।
स्वर्ण महोत्सवलाई भव्य रुपमा सम्पन्न गर्नका लागि स्वर्ण महोत्सव मुल आयोजक समारोह समिति, उपसमिति, प्रचारप्रसार विभाग, आर्थिक, नृत्य, गीत संगीत, मञ्च व्यवस्थापनलगायतको विभाग गठन गरी तयारी तीब्र बनाइएको छ । पत्रकार सम्मेलनमा बोल्दै मुल आयोजक समारोह समितिका संयोजक अर्जुन राईले तत्कालिन, अल्पकालिन र दीर्घकालिन महत्वको ठोस योजनाका साथ महोत्सव मनाउन लागिएको बताउनुभयो । उहाँले गुणस्तरीय शिक्षा अभिबृद्धिका लागि सुरु गरिएको यस अभियानमा बौद्धिक, आर्थिक, भौतिक र नैतिक सहयोगका लागि अपिलसमेत गर्नुभयो ।
महत्वपूर्ण योगदान गर्ने विद्यालयका संस्थापक, सहयोग गर्ने दातृ संस्था तथा व्यक्तित्व, शिक्षक, अभिभावक तथा कीर्तिमानी सफल विद्यार्थीहरुलाई सम्मान तथा कदर गर्ने, विद्यालयको क्षेत्र कम्तिमा १५० रोपनी विस्तार गर्दै नमुना भौतिक संरचना निर्माण गर्ने, माध्यमिक विद्यालय (१०+२) तहलाई पूर्णता दिने, प्राविधिक शिक्षालय स्थापना गर्ने कार्ययोजना तयर गरिएको छ भने विज्ञान प्रयोगशालाको व्यवस्था गर्ने, सुविधासम्पन्न होस्टेलको व्यवस्था गर्ने, ई–पुस्तकालय स्थापना गर्ने तथा अहिले सञ्चालनमा रहेको पुस्तकालयको बृद्धिविकास गर्ने, विभिन्न शिर्षकमा शैक्षिक कोष तथा अक्षयकोष स्थापना गर्ने, बाल शैक्षिक उद्यान निर्माण गरी स्वर्ण प्रतिक स्थापना गर्नेलगायतका कार्ययोजनाहरु रहेको छ ।
त्यस्तै विद्यालयको आफ्नै व्यवस्थित हल तथा खेलकुद पूर्वाधार निर्माण गर्ने, दक्ष जनशक्ति उत्पादनका लागि तत्कालिन र दीर्घकालिन ठोस योजना निर्माण तथा स्वच्छ वातावरणका साथै जनचेतना अभिबृद्धि गर्ने, परम्परागत तथा मौलिक संस्कृतिलाई परिमार्जन गर्दै अगाडि संरक्षण र प्रवद्र्धनका साथै आन्तरिक तथा वाह्य पर्यटन प्रवद्र्धनलाई प्राथमिकताका साथ अघि बढाउने योजना अघि बढाइएको छ ।
मुल आयोजक समारोह समिति प्रचारप्रसार विभाग प्रमुख प्रकाश खालिङकाअनुसार स्वर्ण महोत्सवको अवसरमा स्मारिका प्रकाशन गर्नुका साथै बृत्तचित्रसमेत निर्माण गरिने छ ।
स्वर्ण महोत्सवको अवसरमा विद्यालयस्तरीय र खुल्लातर्फको विभिन्न प्रतियोगितात्मक कार्यक्रमहरु सञ्चालन गरिने छ । त्यस्तै ख्यातिप्राप्त कलाकारहरुको मनोरञ्जनात्मक सांगीतिक प्रस्तुतिहरुसमेत रहने जनाइएको छ । कक्षा ९ देखि १५ सम्मको लागि छात्र फुटबल र छात्रा भलिबल प्रतियोगिता, कक्षा ६ देखि ८ सम्मका लागि नृत्य प्रतियोगिता, कक्षा ४ र ५ को लागि गेसिङ वर्ड र चित्रकला, कक्षा ९ र १० का लागि हाजिरिजवाफ प्रतियोगिता, माविस्तरीय मिनी म्याराथन प्रतियोगिता आयोजना गरिने छ ।
पुरुष फुटबल प्रतियोगिता (राप्छा स्वर्णिम कप २०७५), महिला÷पुरुष भलिबल प्रतियोगिता, चेस प्रतियोगिता, महिलापुरुष मिनी म्याराथन, पुरुष आर्चरी, डबल पुरुष व्याटमिनटन, टेबलटेनिस प्रतियोतिगा आयोजना गरिने छ भने सांगीतिक प्रस्तुतिसमेत रहनेछ ।
पत्रकार सम्मेलनमा सल्लाहकार मानबीर राई, २ नम्बर वडा अध्यक्ष असारमान मगर, प्रध्यानाध्यापक कुमारराज श्रेष्ठ, कोषाध्यक्ष पञ्चे राई, उपसमिति संयोजक मानवीर राई, थुलुङ दुधकोशी गाउँपालिकाका प्रशासकीय अधिकृत अविलाल राई, सेन्चुरी बैंकका म्यानेजर आरती राईलगायतको उपस्थिति रहेको थियो ।