जिल्लामा एक महिनादेखि रासायनिक मलको अभाव हुँदा यस वर्ष गहँुखेती प्रभावित हुने भएको छ । रासायनिक मल युरिया नपाउँदा गहँुखेती प्रभावित भएको वीरगन्ज उपमहानगरपालिका–२७ रमघरवाका शेषमन पण्डितले बताउनुभयो ।
कृषि सामग्री कम्पनी लिमिटेड क्षेत्रीय कार्यलय वीरगन्जमा गहँुखेतीका लागि आवश्यक पर्ने युरिया मल सकिएको छ । कार्यालयका निमित प्रमुख अजयकुमार श्रीवास्तवले कृषि मन्त्रालयसँग मल अभावका विषयमा कुरा भइरहेको बताउनुभयो । जिल्लामा करिब साढे तीन हजार मेट्रिक टन डिएपी मल खपत हुन्छ । सरकारले रासायनिक मलमा किसानलाई ५० प्रतिशत अनुदान दिँदै आएपनि युरिया मलको अभाव भएपछि किसान भारतबाट आयात गरिएको कमसल मल प्रयोग गर्न बाध्य छन् ।
कम्पनीका अनुसार आव २०७२÷७३ मा रु १८ करोड ९२ लाख ९३ हजारको १० हजार ५०० मेट्रिक टन युरिया, रु ४६ करोड ३७ लाख २७ हजारको १० हजार ३०५ मेट्रिक टन डिएपी र रु एक करोड ४१ लाख ३९ हजारको ४५९ मेट्रिक टन पोटास बिक्री भएको थियो । -रासस