काठमाडौ,फागुन ६-
राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको आयोजनामा अन्तर दोहोरीसाँझ लोकदोहोरी प्रतियोगिता हुने भएको छ ।शुक्रबार रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गर्दै प्रतिष्ठानले लोक संस्कृतिको सम्बर्द्धन र प्रतिष्ठानको निजी भवन निर्माणको उद्देश्यले आगामी फागुन १२ देखि १६ गतेसम्म प्रतियोगिता गर्न लागिएको जानकारी दिएको छ ।
प्रतिष्ठानका अध्यक्ष बद्री पंगेनीले लोक संस्कृतिको संरक्षण, नयाँ प्रतिभाहरुलाई प्रोत्साहन र भवन निमार्णको लागि उक्त प्रतियोगिताको आयोजना गरिएको जानकारी दिए ।प्रतियोगितामा देशभरबाट ३० समूहको सहभागिता रहनेछ । अघिल्ला बर्षहरुको तुलनामा यसपटक धेरै समूको सहभागिता रहने अध्यक्ष पंगेनीले बताए ।
पत्रकार सम्मेलनमा प्रतिष्ठानका अध्यक्ष पंगेनीले नेपाली संस्कृतिमा बिदेशी प्रभाव बढ्न थालेकोमा गुनासो गर्दै लोक संस्कृतिको संरक्षणका लागि सरकारी तदारुकता अत्यावश्यक भइसकेको बताए ।
प्रतियोगितामा प्रथम हुनेलाई १ लाख ५ हजार, दोस्रो हुनेलाई ७५ हजार, तेस्रो हुनेलाई ५० हजार, सान्त्वना २५ हजार नगद पुरस्कार प्रदान गरिनेछ । उत्कृष्ट गायक-गायिकाले १५/१५ हजार रुपैयाँ पाउनेछन् ।प्रतियोगिता काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुनेछ । बिहान ११ बजेदेखि सुरु हुने कार्यक्रम साँझ ५ बजेसम्म चल्नेछ ।