काठमाडौ,फागुन ५-
नेपालमा यौन व्यवसाय कानुनी रुपमा प्रतिबन्धित छ। तर, एक अध्ययनले नेपालमा व्यावसायिक रुपमा यौनकर्ममा लागेका महिलाको संख्या झन्डै ५५ हजार रहेको देखाएको छ। राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रले गरेको अध्ययनअनुसार नेपालमा महिला यौनकर्मीको संख्या न्यूनतम ४३ हजार आठ सय २९ देखि अधिकतम ५४ हजार एक सय ९७ छ।
ग्लोबल फन्ड र सेभ द चिल्ड्रेनको सहयोगमा केन्द्रले गरेको अध्ययनले विभिन्न ४४ जिल्लाबाट तथ्यांक संकलन गरी ३१ जिल्लाको संख्या आँकलन गरेर यो संख्या निकालेको हो। केन्द्रले बिहीबार सार्वजनिक गरेको अध्ययन प्रतिवेदनले काठमाडौँमा सबैभन्दा बढी ९ हजार सात सय ८९ देखि ११ हजार ६ सय ७० महिला यौनकर्मी रहेको देखाएको छ। महिला यौनकर्मीको संख्या उच्च रहेको जिल्लामध्ये भक्तपुर दोस्रो र ललितपुर तेस्रो नम्बरमा छन्।
यसैगरी, तेस्रोलिङ्गी, पुरुष यौनकर्मी, समलिङ्गी पुरुष र पुरुषसित यौन कार्यमा संलग्न हुने अन्य पुरुषहरुको अनुमानित संंख्या न्यूनतम ८७ हजार आठ सय २३ देखि अधिकतम एक लाख ११ हजार पाँच सय ५२ जना रहेको अध्ययन प्रतिवेदनमा उल्लेख छ ।
साथै नेपालमा ३० हजारभन्दा बढीले सुइद्वारा लागूऔषध लिने गरेको पनि अध्ययनले देखाएको छ। काठमाडौंमा मात्रै यो संख्या ३ हजारभन्दा बढी रहेको बताइएको छ। सुइद्वारा लागूऔषध लिनेमा दोस्रोमा कास्की र तेस्रोमा बारा जिल्ला रहेको अध्ययनले देखाएको छ।
बिहीबार सार्वजनिक गरिएको प्रतिवेदनबारे सरोकारवाला निकायका प्रतिनिधि, सञ्चारकर्मी र गैरसरकारी संस्थाका प्रतिनिधिले प्रश्न उठाएका थिए। सहभागीहरुले महिला यौनकर्मीको बढ्दो संख्या र एचआइभी/एड्स संक्रमितको घट्दो संख्या देखाइनुले तथ्यांक विश्वसनीय नभएको बताएका थिए ।
रिकभरिङ नेपाल महासंघका अध्यक्ष विष्णु पौडेलले सुइद्वारा लागूऔषध प्रयोग गर्नेको संख्या र यौनकर्मीको जिल्लागत आँकडा वास्तविकताभन्दा बढी अनुमानित भएको दाबी गरे । उनले तथ्यांक संकलनको कार्यविधि नै प्रस्ट नभएकाले तथ्यांक सही हुनेमा शंका गर्ने ठाउँ रहेको बताएका थिए।
राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रका निर्देशक डा. तरुण पौडेलले विधि अनुसार नै अध्ययनको नतिजा आएको बताए। उनले केही जिल्लाको तथ्याङ्क भने पुनः प्रमाणीकरण गर्न सकिने जनाएका थिए।स्वास्थखवरवाट साभार