नेकपा एमालेसम्वद्ध युवा संघ नेपालको विवाद उत्कर्षमा पुगेको छ । माधवकुमार नेपाल पक्षले छुट्टै महाधिवेशन गर्ने घोषणा गरेको छ ।
संस्थापन पक्षले भने वैशाख ९ देखि १२ गतेसम्म हेटौंडामा महाधिवेशन गर्ने निर्णय गरिसकेको छ ।संस्थापन पक्षले एकलौटी गरेको र हुकुम प्रमाङ्गीका आधारमा संगठन चलाइएको भन्दै नेपाल पक्षले एउटै मितिमा चितवनमा महाधिवेशन गर्ने घोषणा गरेको हो ।
उपाध्यक्ष दिलकुमारी पन्त, राजु गुरुङ, सचिव हस्त शाही, नरेशकुमार शाही, मञ्जु यादव र क्रान्ति बुर्लाकोटीले संयुक्त पत्रकार सम्मेलन गरेर विधान र नियमावली अनुसार चल्न संस्थापन पक्षलाई एकहप्ते अल्टिमेटम दिएका छन् ।संविधान अनुसार भौगोलिक इकाई बनाएर सांगठनिक ढाँचा बनाउनु पर्नेमा पुरानै संरचनालाई निरन्तरता दिन खोजिएको र यसमा एमाले नेताहरु नै संलग्न रहेको उनीहरुको आरोप छ ।